हेटौँडा : चितवन जिल्लाको राप्ती नगरपालिका–५, बाबा पेट्रोल पम्प भण्डारा अगाडि योद्धा जीपले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ । आइतबार बिहान ७ बजेर ५० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गमा नारायणघाटदेखि हेटौँडा आउँदै गरेको प्रदेश ३–०१–०२४ च ६०३८ नम्बरको योद्धा जीपले सोही दिशातर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा साइकल यात्री राप्ती नगरपालिका–४, प्रेमबस्तीका ६० वर्षीय काजीमान सुनार गम्भिर घाइते भएका थिए । घाइते सुनारलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा बिहान ८ बजेर ५० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । जीप चालक सर्लाही जिल्ला लालबन्दी नगरपालिका–६, का २३ वर्षीय विकास बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।