हेटौँडा : हेटौंडाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातोमाटेबाट ४ ग्राम ९१० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा हेटौँडा–८ का २३ वर्षीय निखिल तिमल्सिना, २८ वर्षी भीमसेन पाण्डे, हेटौँडा–७ का २७ वर्षीय मन्जित गौतम र हेटौंडा–५ का २० वर्षीय साकार ढुंगेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको गरेको प्र २–०३–०२१ प ६३०८ नम्बर र बा प्र ०३–००५ प ९६६६ नम्बरको मोटरसाइकल रोकेर सुरक्षाजाँच गर्ने क्रममा ४ ग्राम ९१० मिलिग्राम लागूऔषध खैरो हिरोइन फेला परेको प्रहरी नायव उपरीक्षक अर्यालले बताउनुभयो ।
उहाँका अनुसार शंकाको आधारमा उनीहरुको शरीर तथा मोटरसाइकल खानतलासीको क्रममा निखिल तिमल्सिनाले बायाँ खुट्टाको जुत्ताभित्र लुकाएर ल्याएको अवस्थामा खैरो हेरोइन फेला परेको थियो । सोधपुछ गर्ने क्रममा ४ जना मिलेर खरिद गरी ल्याएको बताएपछि प्रहरीले ४ जनालाई पक्रेको प्रहरी नायव उपरीक्षक अर्यालले बताउनुभयो । ४ जनालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।