हेटौँडा : हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गरिएको छ । बिहीबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा आयोजित एक समारोहका बीच उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले हेटौँडालाई निकृष्ट बालश्रम मुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरेका हुन् ।
करिव ३ वर्षको गृहकार्य पश्चात हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गरिएको हो । घोषणा सभा समारोहमा नगरका सबै सरकारी निकाय, विद्यालय, सामुदायिक संघसंस्था लगायतको सहभागिता रहेको थियो । शहरका विभिन्न भागबाट प्रभातफेरिसहित नगर परिक्रमा गर्दै रंगशालामा पुगेको थियो ।
बालमैत्री घोषणाका लागि आवश्यक ५१ मध्ये ४३ वटा सूचकमा शतप्रतिशत र अन्य सूचकमा आवश्यक नतिजा हासिल गर्दै घोषणाको अवस्थामा आइपुगेको उपमहानगरपालिकाले दावी गरेको छ । बागमती प्रदेशमा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुने हेटौंडा दशौं पालिका हो । मकवानपुरका १० पालिकामध्ये मनहरी गाउँपालिका, बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिका यसअघि नै बालमैत्री घोषणा भइसकेका छन् ।
बालमैत्री घोषणाको विभिन्न चरणमा उपमहानगरपालिकाका १९ वटै वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएका थिए । यस क्रममा २६५ वटा टोलस्तरीय र १०६ वटा विद्यालयस्तरीय गरी ३७१ बाल समूह तथा १९ वडास्तरीय र १ नगरस्तरीय बाल समूह सञ्जाल उपमहानगरपालिकाभित्र क्रियाशील रहेका छन् । घरधुरी तथ्यांक संकलन सर्वेक्षण, २०७९ का अनुसार हेटौँडा उपमहानगरपालिकामा १८ वर्ष मुनिका बालबालिकाको संख्या ५० हजार १९५ रहेको छ ।
घोषणा सभामा साँस्कृतिक नाच प्रदर्शन
बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा सभामा साँस्कृतिक नाच प्रदर्शन गरिएको थियो । सभामा हेटौँडा–२, १२ र १८ ले क्रमशः साँस्कृतिक नाच प्रदर्शन गरेका थिए ।
हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका छात्रछात्राहरुले राउटे समुदायको नाच देखाएका थिए । राउटे समुदायको जीवन, संघर्ष रहनसहन र संस्कृति लगायतका विषयहरु समेटेर नाच देखाइएको थियो । त्यस्तै हेटौँडा–१२ को बाल समूहका बालबालिकाले भुमे नाच प्रदर्शन गरेका थिए । मगर समुदायले नाच्ने उक्त नाच साँस्कृतिक रुपमा अत्यन्त महत्वपूर्ण रहेको छ ।
हेटौँडा–१८ का बालबालिका समूहले भने विशेषगरी कोशी प्रदेशमा नाचिने संगिनी नाच प्रदर्शन गरेका थिए । हिन्दु नारीहरुले हरितालिका तीजको समयमा नाचिने उक्त लोपोन्मुख नेपाली लोक संगीत संगिनी नाचबाट महिलाहरुले आफ्ना दुःख पीडाहरु बयान गर्ने गर्दछन् ।