हेटौंडा: हेटौंडा–४ स्थित हुप्रचौरमा जारी प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगितामा क्रिकेट एकेडेमी मकवानपुर (क्यान–११) ले जीत निकालेको छ । मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा जारी खेलको दोस्रो दिनको प्रतियोगितामा मकवानपुरगढीलाई १ सय ८ रनले पराजित गर्दै क्यान–११ विजयी भएको हो ।

बुधबार भएको पहिलो खेलमा टस जितेर पहिल ब्याटिङ गरेको क्यान–११ को टिमले निर्धारित २५ ओभरमा ६ विकेटको क्षतिमा २ सय ४४ रन बनाएको थियो । मिथिलेश गुप्ताले सर्वाधिक १ सय २ रन बनाउँदै मकवानपुरगढी विरुद्ध शतक प्रहार गरेका थिए । अनुराग बर्तौलाले २९ रन, आयुष गुप्ताले २६ रन र अनिल पाण्डेले १४ रन बनाएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको मकवानपुरगढीले निर्धारित २५ ओभरमा १ सय ३६ रन बनाउँदै सबै विकेट गुमाएको थियो । विनम्र अधिकारीले सर्वाधिक २६ रन बनाएका थिए । रितेश अधिकारीले २३ रन, उत्सर्ग लामिछानेले १४ रन, सविन पाण्डेले १२ रन र विपिन भण्डारीले ६ रन बनाएका थिए । क्यान–११ का रविन शर्मा, प्रशान्त कार्की र ओमप्रकाश रामले समान २/२ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच शतक प्रहार गर्ने क्यान–११ का मिथिलेश गुप्ता घोषित भएका छन् ।

यस्तै, बुधबारै भएको दोस्रो खेलमा न्यू मर्निङ क्रिकेट क्लबले जीत निकालेको छ । कमाने क्रिकेट क्लबसँगको प्रतिस्पर्धात्मक प्रतियोगितामा न्यू मर्निङको टिमले डिएल मेथोडको नियम अनुसार जीत दर्ता गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको न्यू मर्निङको टिमले निर्धारित २५ ओभरमा ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । न्यू मर्निङका युविन बुढाथोकीले सर्वाधिक ५६ रन बनाएका थिए । यस्तै, प्रजयराज रिजालले १४ रन बनाएका छन् । बलिङतर्फ समीर चौलागाईं र रोशन यादवले समान २÷२ विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा उत्रिएको कमाने क्रिकेट क्लबले २३ ओभरमा ७ विकेट गुमाउँदै ९३ रन मात्र बनाउन सफल भएको थियो । न्यू मर्निङ डिएल मेथोडअनुसार विजयी भएको हो । बलिङतर्फ विपुल खनालले सर्वाधिक ३ विकेट लिएका थिए । विकास सेञ्चुरी र निश्चल रोक्काले समान २/२ विकेट लिएका थिए ।

लिग कम नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक संजोग पोखरेलले जानकारी दिनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक क्यालेण्डरअनुसार हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मकवानपुरका खेलाडीहरु सहभागी गराउन छनोट प्रतियोगिता आयोजना गरेको उहाँले बताउनुभयो ।

प्रतियोगितामा सहभागी भएका खेलाडीहरुमध्ये पहिलो चरणमा १८ जना खेलाडी छनोट गरेपछि १४ जनालाई प्रारम्भिक सूचीमा राख्ने उहाँले बताउनुभयो । छनोट प्रतियोगिता फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोकृष्ट खेलाडी, सर्वोकृष्ट ब्याट्सम्यान, सर्वोकृष्ट बलरलाई पनि ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।