हेटौँडा : इटहरीका महाकाली–मेचीका राष्ट्रिय साइकलयात्रीलाई हेटौँडामा स्वागत गरिएको छ । महाकालीबाट मेचीसम्मको यात्रा सुरु गरेर सोमबार हेटौँडा आइपुग्नु भएका इटहरीका ४ जना साइकलयात्रीलाई हिमालयन राइडर्स सोसाइटी मकवानपुरका अध्यक्ष राजु थापा मगरसहितको टोलीले स्वागत गरेको हो ।
गत माघ २३ गते महाकालीबाट यात्रा सुरु गरेका तरहरा साइक्लिङ क्लबका अध्यक्ष रमेश भण्डारी, सचिव सन्तोषकुमार श्रेष्ठ, कोषाध्यक्ष प्रेम तामाङ र इटहरी नगरपालिका–२० नम्बर वडाका वडा सदस्य बहादुर तामाङ छैटौँ दिनमा हेटौंडा आइपुग्नुभएको छ । यात्रा टोलीमा रहेका अध्यक्ष भण्डारी ५७ वर्ष उमेरको हुनुहुन्छ । यस्तै, सचिव श्रेष्ठ ४८ वर्ष, कोषाध्यक्ष तामाङ ४२ वर्ष र सदस्य तामाङ ३८ वर्ष उमेरको हुनुहुन्छ । टोलीको प्रतिनिधि विकास घिमिरे २९ वर्षको हुनुहुन्छ ।
साइकल यात्रीहरुले प्रत्येक दिन एक सय किलोमिटर दुरीको यात्रा पूरा गर्ने लक्ष्य लिएको हिमालयन राइडर्स सोसाइटी मकवानपुरका अध्यक्ष मगरले जानकारी दिनुभएको छ । सोमबार हेटौंडामा १ रात बिताउनुहुने राष्ट्रिय साइकल यात्रीले मंगलबार बर्दिवाससम्मको यात्रा पूरा गर्ने योजना बनाउनुभएको उहाँले बताउनुभयो । १० दिनको अवधिमा महाकालीबाट मेचीसम्मको यात्रा पूरा गरिने उहाँले बताउनुभयो ।
स्वास्थ्य, पर्यावरण र पर्यटन प्रवद्र्धनका लागि साइकल भन्ने मूल नाराका साथ उहाँहरुले यात्रा सुरु गर्नुभएको अध्यक्ष मगरले बताउनुभयो । सोसाइटीले देश विदेशबाट साइकल यात्रा गरेर आउने पर्यटकलाई स्वागत गरेर हौसला बढाउने काम गर्दै आएको उहाँले बताउनुभयो । साइकलको माध्यमले मकवानपुरको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने काम सोसाइटीले गर्दै आएको उहाँले बताउनुभयो ।