सम्मेलनमा सहभागी हुनुहुँदै मुख्यमन्त्री लामा ।

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा दुवईमा आयोजित विश्व सरकार सम्मेलन–२०२५ मा सहभागी हुनुभएको छ । मंगलबार राती त्रिभुवन विमानस्थलबाट फ्लाई दुवई एयरवेयज मार्फत् दुवई पुग्नुभएका मुख्यमन्त्री लामा बुधबार सम्मेलनमा सहभागी हुनुभएको हो ।

सम्मेलनमा मुख्यमन्त्री लामा सामूहिक छलफलमा समेत सहभागी हुनुहुनेछ । सम्मेलनमा मुख्यमन्त्री लामाले ‘भविष्यको सरकारलाई सवल बनाउने’ विषयमा मन्त्रीस्तरीय गोलमेच छलफलमा भाग लिने कार्यक्रम रहेको छ । सो छलफलमा मुख्यमन्त्री लामाले ‘प्रभावशाली सरकार र संकटको पुनरुत्थान’ विषयमा बोल्नुहुनेछ ।

सम्मेलनका अध्यक्ष एवम् काजाकिस्तानका प्रथम उपमन्त्री एचइ कन्यस तगइशिलद्वारा डिजिटल विकास, नवीनता र हवाई उद्योग विषयमा टिप्पणी गर्नुहुनेछ । सो कार्यक्रममा मुख्यमन्त्री लामाले नेपाल र बागमती प्रदेशमा संघीयता कार्यान्वयन, विकास निर्माण, समस्या, चुनौति र अवसरका विषयमा धारणा राख्नुहुनेछ ।