हेटौंडा : हेटौंडा अस्पतालमा मंगलबारबाट स्वास्थ्य बिमाका बिरामीको ओपिडी पुनः दर्ता प्रक्रिया सहज बनाइएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालले सोमबार सूचना प्रकाशन गरी बिमा ओपिडी टिकट पुनः दर्ताको लागि लाइन बस्न नपर्ने जनाएको हो ।
एक पटक ओपिडी टिकट दर्ता गरिसकेपछि ७ दिनसम्म बिरामीले सम्बन्धित विभागबाटै पुनः दर्ता गरेर फलोअप गर्न सकिने जनाइएको छ । जुन विभागबाट सेवा लिने हो, सोही विभागमा पुनः दर्ता गर्न सकिने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।
लाइन नबसीे बिलिङ र फार्मेसीबाट औषधि लिन सकिने सूचनामा उल्लेख गरिएको छ । डाक्टरसँग कन्सल्ट गर्नका लागि ७ दिनभित्र पुनः दर्ता नगरी सिधै डाक्टर भेट्न सकिने बताइएको हो । डाक्टरसँग कन्सल्ट गरिसकेपछि भने सम्बन्धित डाक्टरको नाम, एनएमसी नम्बर र मिति उल्लेख गरिएको छाप अनिवार्य लगाउनु पर्नेछ । त्यसपछि मात्र बिलिङ तथा औषधि लिन सकिने सूचनामा बताइएको छ ।