![The meeting of the National Federation of Rural Villages in Makwanpurgarhi](https://samriddhasamaj.com/wp-content/uploads/2025/02/The-meeting-of-the-National-Federation-of-Rural-Villages-in-Makwanpurgarhi-696x365.jpg)
हेटौंडा: सोमबार गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिको १० औं बैठक मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बसेको छ । २/२ महिनामा घुमफिर बैठक अन्तर्गत समितिका अध्यक्ष कर्णबहादुर मगरको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।
मकवानपुरगढी गाउँपालिका–२ का वडा अध्यक्ष बखान सिंह पाख्रिनका अनुसार विवाह उमेर १८ वर्ष कायम गराउन बागमती प्रदेश सरकारलाई ध्यानाकर्षणदेखि जनप्रतिनिधि, पालिकाको समस्या तथा चुनौती, अवसरबारे छलफल गरिएको छ । पालिकाको वस्तुगत प्रगति विवरण प्रस्तुत गर्नुहुँदै वडा अध्यक्ष पाख्रिनले समानरुपले बजेट वितरण, पालिकाका अध्यक्ष उपाध्यक्षबीचको समझदारी नहुँदा अड्किएका कामकारबाहीसँगै स्थानीय सरकार र प्रदेश सरकारबीच बाझिएका कानुन संशोधन गर्न प्रदेश सरकारलाई दबाब दिने निर्णय गरिएको छ ।
यस्तै, २० वर्ष विवाह उमेर हद कायम गर्दा कतिपयले कारागारमा जीवन बिताउनु परेको र घर तथा परिवारबाट टाढा हुने क्रम बढेको भन्दै विवाह उमेर हद १८ वर्ष कायम गर्न दबाब दिने निर्णय गरिएको छ । गिट्टी, बालुवा उत्खननमा समेत कानुनी झमेला रहेकाले संशोधन गर्न प्रदेश सरकारलाई दबाब दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । बैठकमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानलगायतको उपस्थिति रहेको थियोे ।