हेटौंडाः हेटौंडा–५, पिप्लेस्थित सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २० औं स्थापना दिवस मनाएको छ । सहकारीमै आज शुक्रबार एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा सहकारीले ४ परिवारलाई प्रतिपरिवार दुई हजार पाँच सय रुपैयाँ सहयोग गरेको छ । कमजोर आर्थिक अवस्था भएका ४ परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
स्थापना दिवसको अवसरमा हरेक वर्ष विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम गर्दै आए पनि यस वर्ष भने कोभिड–१९ को संक्रमणको जोखिमका कारण ती कार्यक्रम गर्न नपाएको सहकारीकी अध्यक्ष जानकी चौधरीले जानकारी दिनुभएको छ । सहकारीमा एक लाख रुपैयाँ बराबरको सेयर खरिद गर्नुहुने रामकुमार विष्टलाई सम्मान पनि गरिएको छ ।
सहकारीकी अध्यक्ष जानकी चौधरीको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँ, वडा सदस्यहरु ज्ञानबहादुर थापा, केशव श्रेष्ठ, सरस्वती दाहाल, भगवती विश्वकर्माको पनि उपस्थिति रहेको थियो ।
तीन हजार ७० जना सेयर सदस्य रहेको सहकारीले कोभिड–१९ को महामारीका बेला सेयर सदस्यलाई ऋणको व्याजमा ६ प्रतिशतछुट दिएको छ । सहकारीको बचत २२ करोड ८० लाख रुपैयाँ रहेको छ भने ऋण लगानी २१ करोड ६९ लाख रुपैयाँ रहेको छ ।