हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१४, भावनाचोकमा कार र मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजेर ४५ मिनेटको समयमा भित्री सडकखण्डमा गीतानगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको बा प्र ०१–०२९ च ७५९७ नम्बरको कार र शिवनगर स्कुलबाट हनुमान नगरतर्फ जाँदै गरेको बा प्र ०६–००१ प ५०४८ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक कालिका नगरपालिका–८, शक्तिखोरका २० वर्षीय प्रदीप खत्री र पछाडी सवार भरतपुर–१४ का २१ वर्षीय रोशन अधिकारी घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो । घाइते रोशनको उपचारको क्रममा सोमबार बिहान ५ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कार चालक भरतपुर महानगरपालिका–२० का ३४ वर्षीय सविनराज लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।