हेटौँडा : बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै प्रकारका भ्रष्ट्राचारमा संलग्न ठुला माछा पक्राउ गर्नुपर्ने बताउनुभएको छ । उहाँले साना भ्रष्ट्राचारका घटनालाई छानविन र कारवाही गरी मुद्दाको संख्यामात्र बढाउने नभई ठुला र सबै प्रकारका भ्रष्ट्राचारी माछाहरु समात्न सक्नु पर्ने बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिकोत्सवको अवसरमा सोमबार हेटौँडास्थित आयोगको कार्यालयमा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले जनताको निराशा चिर्दै भ्रष्ट्राचारको विरुद्ध खरो उत्रिन सक्नु पर्ने बताउनुभयो । बेईमानीका विरुद्धको कदम चाल्ने विषयमा खुट्टा नकमाउन उहाँले अख्तियारलाई आग्रह गर्नुभयो । चुनौती चिर्दै अघि बढ्दा खास सफलता प्राप्त हुने उहाँले बताउनुभयो । अख्तियारको प्रगति झिनो देखिएको र उक्त विषयमा गम्भीर हुनुपर्ने उहाँको भनाई छ ।
‘भ्रष्टाचार जघन्य अपराध हो । यसको निन्दा कुनै शब्दमा लिन सकिँदैन । आफ्नो अख्तियारीलाई दुरुपयोग गरी देश, जनता र सुशासनको विरूद्ध नैतिकता र कानुन विपरित जाने जो कोहीलाई सुक्ष्म अनुसन्धान र निष्पक्ष कारवाही प्रक्रियामा अघि बढाउनु पर्दछ’, प्रदेश प्रमुख देवकोटाले भन्नुभयो, ‘अख्तियारलाई साना/साना भ्रष्ट्राचारका मुद्दामा हात हालेर संख्यात्मक विवरण पेश गर्ने तर ठुला र संस्थागत भ्रष्ट्राचारका मुद्दाहरुमा हात हाल्न हिचकिचाउने भन्ने आरोपहरु पनि लागेको पाईन्छ । यी आरोपलाई गलत सावित गराउन साना/ठुला सबै प्रकृतिका भ्रष्ट्राचारी माछाहरुलाई पक्रिन सक्नु पर्दछ ।’
उहाँका अनुसार कार्यसम्पादनमा देखिएको सुस्तताले युवाहरुमा निराशा बढाइरहेको छ । राज्यका निकायहरुलाई दोषारोपण गरेर ढिलासुस्ती गर्ने छुट नरहेको र तिव्र रुपमा गतिशील विश्वको लय समाउन सबैले परिस्कृत हुनुपर्ने उहाँले बताउनुभयो । भ्रष्ट्राचार हुन नदिन ईमान्दारिता, पारदर्शिता र सुशासनका विषयवस्तु विद्यालय र कलेजका पाठ्यक्रममा समावेश गरिनुपर्ने उहाँको धारणा रहेको छ ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले भ्रष्ट्राचार देश विकास र समृद्धिको वाधक भएको बताउनुभयो । भ्रष्ट्राचारका कारण नागरिकको मौलिक हक उपभोगमा समेत बाधा पुर्याउने उहाँले बताउनुभयो । पछिल्लो समय देशमा नीतिगत भ्रष्ट्राचार र कामचोरी बढेको उहाँको भनाई छ । भ्रष्ट्राचारको अंक दिनप्रतिदिन बढिरहेकोले यसको अन्त्य गर्ने जिम्मेवारी अख्तियारको मात्र नभई सम्पूर्ण नागरिक समाज, निजी क्षेत्रको समेत भएको उहाँको भनाई छ ।
प्रदेश सरकार सुशासन पारदर्शीता कायम गर्न प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । मन्त्री लामिछानेले प्रदेश सरकार न्याय प्रणालीको सुदृढीकरण र प्रशासनिक क्षेत्रमा सुधारका लागि अघि बढिरहेको बताउनुभयो । नीति निर्माण, बजेट व्यवस्थापन, सार्वजनिक खरिद प्रक्रियामा पारदर्शीता र निष्पक्षता कायम गर्न सरकार जिम्मेवार ढंगबाट अघि बढेको उहाँले बताउनुभयो ।