हेटौँडा : हेटौँडा–१८, हर्नामाडीमा रहेको ज्योति माध्यामिक विद्यालयमा शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्तर्गत प्रतिस्पर्धात्मक साँस्कृतिक भेषभुषा (जातिगत भेषभुषा) प्रदर्शनी कार्यक्रम भएको छ । विद्यालयले प्रत्येक शुक्रबार विभिन्न प्रदर्शनी सम्बन्धी कार्यक्रमहरु गर्दै आएको विद्यालयका प्रधानाध्यापक जयराम थापाले जानकारी दिनुभयो ।
शुक्रबार भएको भेषभुषा प्रदर्शनी कार्यक्रम आधारभूत तह १–३ र ४–८ गरी दुई समूहमा विभाजन गरेको थियो । प्रतियोगितामा १–३ मा अधिरा लामा प्रथम र समीर लामा द्वितीय भएका छन् भने ४–८ मा रञ्जित थिङ प्रथम, मनिषा थिङ र अर्जुन सापकोटा द्वितीय भएका छन् । प्रतियोगितामा सर्वोकृष्ट प्रस्तुती सोमिता थिङको रहेको थियो । प्रतियोगितामा २६ जना छात्रा र १७ जना छात्रले प्रस्तुती गरेका थिए । प्रतियोगितामा प्रथम र द्वितीय हुने विद्यार्थीलाई सोमबार पुरस्कारस्वरुप शैक्षिक सामग्री वितरण गरिने उहाँले बताउनुभयो ।
सामाजिक विषय अन्तर्गत प्रदर्शनी गरिएको थियो । विद्यार्थीहरुमा भेषभुषाको महत्वबारे जानकारी गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको प्रधानाध्यापक थापाले जानकारी दिनुभयो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा एक हजार २ सय जना विद्यार्थी अध्ययनरत छन् ।