हेटौंडा: हेटौंडामा ५ किलोमिटर दुरीको जिल्लास्तरीय खुला दौड प्रतियोगिता हुने भएको छ । नेकपा माओवादी निकट संगठन पूर्वजनमुक्ति सेना नेपाल मकवानपुरको आयोजनामा आगामी फागुन १ गते ५ किलोमिटर दुरीको खुला दौड प्रतियोगिता हुने भएको हो ।
आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै वाइसियल मकवानपुर, अखिल क्रान्तिकारी मकवानपुर र अखिल नेपाल खेलकुद महासंघको आयोजनामा हुने प्रतियोगिताको बारेमा पूर्वजनमुक्ति सेना मकवानपुरका अध्यक्ष सौगात पाख्रिन (सुमन) ले जानकारी दिनुभएको छ । हेटौंडा–१० स्थित बुद्धचोकबाट सुरु हुने दौड भैरवरोड, चिसापानी, गर्दोइको लक्ष्मी आधारभूत विद्यालय, सूर्यचोक, ब्रह्मदिक् एकेडेमी, नवोदय शिशु सदन, थाहाचोक, शीतल महलचोक, ओमभवन हुँदै पुनः बुद्धचोकमा आएर पूरा हुने उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागी हुनका लागि प्रतियोगीहरुले माघ ३० गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने उहाँले बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, सान्त्वना हुने ७ जना प्रतियोगीहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता आयोजना गर्न १ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।