तालिममा सहभागी शिक्षकहरु ।

हेटौँडा : विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको आयोजनामा आधारभूत तह तथा माध्यमिक तहको प्रश्नपत्र निर्माणसम्बन्धी एक दिवसीय तालिम सम्पन्न भएको छ । शनिबार हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा मकवानपुर जिल्लाका ६३ जना विज्ञान शिक्षकको सहभागितामा तालिम सम्पन्न भएको हो ।

तालिममा भरत पोखरेल, दुर्गा पराजुली, खेम बिक र ओम प्रकाश सापकोटाले सहजीकरण गर्नुभएको थियो । आधारभूत तह र माध्यमिक तह गरी दुई समूहमा विभाजन गरी सञ्चालन गरिएको तालिमबाट विशिष्टिकरण तालिका अनुसार प्रश्नपत्र निर्माण गर्न ध्यान पुर्‍याउनुपर्ने कुराहरू, संज्ञानात्मक तहहरू पहिचान गरी त्यस अनुसार प्रश्नपत्र निर्माण गर्ने सीपको विकास र प्रश्नपत्र निर्माण पूर्व तय गर्नुपर्ने नमुना मेट्रिक्स निर्माण लगायतका विषयमा प्रशिक्षार्थीहरू प्रशिक्षित भएको विज्ञान शिक्षक समाज मकवानपुरका सचिव सुवास खनालले जानकारी दिनुभयो ।

तालिम समापन समारोह विज्ञान शिक्षक समाज मकवानपुरका अध्यक्ष खेमराज लामिछानेको सभाध्यक्षता, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीको पनि आतिथ्य रहेको थियो । प्रशिक्षार्थीको तर्फबाट बकैया गाउँपालिकास्थित गीतावर आधारभूत विद्यालयकी शिक्षक अमृता लामिछाने र थाहा नगरपालिकास्थित मत्स्यनारायण माविका राजेश तिमल्सिनाले यस किसिमका तालिमहरु निरन्तर आयोजना भइरहनुपर्ने बताउनुभयो । तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।