हेटौंडा : हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्तरीय ५ ‘ए’ साइड शिक्षक फुटबल प्रतियोगिता सुरु भएको छ । दोस्रो वडास्तरीय वृहत् खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार भुटनदेवी माविको चौरमा शिक्षकस्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो ।
फुटबल प्रतियोगिताको पहिलो खेलमा हेटौंडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालय विजयी भएको छ । आधुनिक राष्ट्रिय माविलाई २–१ गोल अन्तरले पराजित गर्दै श्रमिक माविका शिक्षकहरुको टिम विजयी भएको हो । श्रमिक माविका शिक्षक रोहित थिङ र करन घलानले एक–एक गोल गरेका थिए ।
प्रतियोगिताको दोस्रो खेलमा नवोदय शिशु सदन विजयी भएको छ । नवोदयले ब्रह्मदिक् एकेडेमीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
शैक्षिक गुणस्तर सुधार समिति अध्यक्ष श्रीराम दहालको सभाध्यक्ष तथा हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको थियो । वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन तथा ब्रह्मदिक् एकेडेमीको सहव्यवस्थापनमा शिक्षकहरुको फुटबल प्रतियोगिता भएको हो । उद्घाटन कार्यक्रममा ४ नम्बर वडा सदस्य गीता त्रिपाठी, शैक्षिक गुणस्तर सुधार समितिका कोषाध्यक्ष माधव दाहाललगायतको आतिथ्य थियो ।
प्रतियोगिताअन्तर्गत् शनिबार विहान भुटनदेवी मावि र हेटौंडा क्याम्पसबिच खेल हुनेछ । शनिबारै सेमिफाइनल तथा फाइनल चरणको खेल हुने शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष दहालले जानकारी दिनुभयो । प्रतियोगितामा हेटौंडा–४ भित्रका ३ वटा सामुदायिक विद्यालय, ३ वटा संस्थागत विद्यालय र हेटौंडा क्याम्पसको सहभागिता रहेको छ ।