हेटौंडाः हेटौंडा उपमहानगरपालिका–५, सिंचाई टोलस्थित हाम्रो घर बालगृहको दिगोपनाका लागि अक्षयकोष स्थापना गर्न महायज्ञ लगाइने भएको छ । ग्रामीण जीवनस्तर सुधार मञ्चले सञ्चालन गरेको उक्त बालगृहको दिगोपनका लागि अक्षयकोष स्थापना गर्न महायज्ञ लगाइने भएको हो ।
मञ्चको आयोजनामा हुने श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञमा संकलित रकमबाट बालगृह सञ्चालनका लागि अक्षयकोष खडा गरिने संयोजक इन्दिरा न्यौपानेले जानकारी दिनुभएको छ । उहाँका अनुसार फागुन १ गतेदेखि महायज्ञ आरम्भ हुनेछ । महायज्ञमा फागुन १ गते कलशयात्रा, प्रत्येक दिन मण्डप पूजा, पाठ पारायण, कथा प्रवचन, भजन, लाखबत्ती प्रज्वलन, झाँकी प्रदर्शनीलगायतका धार्मिक कार्यक्रमहरु हुनेछ ।
भागवतको पुस्तकमा तिल चढाएर अन्तिम दिन फागुन ९ गते महायज्ञ समापन गरिनेछ । महायज्ञमा वाचक पण्डित रामचन्द्र तिमल्सिना र १०८ भागवतका अभियानकर्ता पण्डित हरिचन्द्र तिमल्सिनाले कथा वाचन गर्नुहुनेछ ।
विगत १७ वर्षदेखि अभिभावकविहीन र बेसाहारा बालबालिकाको संरक्षण, हकहितको लागि ग्रामीण जीवनस्तर सुधार मञ्चद्वारा बालगृह सञ्चालनमा रहेको छ । हाल उक्त बालगृहमा २७ जना बालबालिकाहरु आश्रय लिइरहेका छन् ।