हेटौँडा : हेटौँडा बजारको फोहोर सडक छेउमै थुपार्न थालिएको छ । हेटौँडा उपमहानगरपालिका कर्मचारीले सडकका फोहर बडारेर सडकछेउमै थुपारेका हुन् । अदालतले डम्पिङ साइटमा फोहोर नफाल्न अन्तरिम आदेश जारी गरेपछि हिजो बिहीबारबाट घरधुरीको फोहोर संकलन रोकेका हेटौँडा उपमहानगरपालिकाले आज शुक्रबारबाट भने सडकको फोहोर पनि उठाउन छाडेको छ ।
हेटौँडा बजार क्षेत्रमा हेटौँडा उपमहानगरपालिकाकै कर्मचारीले फोहोर संकलन तथा व्यवस्थापन गर्दै आएको छ भने हेटौँडा नगरका निजी आवास तथा व्यावसायिक क्षेत्रको फोहोर सशूल्क संकलन तथा व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिइएको छ । अदालतको आदेशपछि हेटौँडा उपमहानगरपालिकाले बिहीबार एक सूचना नै जारी गरेर फोहोर संकलन कार्य स्थगित गरिएको जनाएको थियो ।
नगरवासीले भने अदालतले डम्पिङ साइटमा फोहोर नफाल्न मात्रै भनेको उल्लेख गर्दै उपमहानगरपालिकाले फोहोर नै नउठाउने निर्णय गलत भएको भनी आलोचना गरेका छन् । फोहोर व्यवस्थापन जस्तो संवेदनशील विषयलाई उपमहानगरपालिकाले जिम्मेवार भएर व्यवस्थापनमा चासो नदेखाएको नगरवासीको गुनासो छ ।