हेटौँडा : हेटौँडा–१५ रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट लागूऔषध ओनरेक्ससहित एकजना भारतीय नागरिकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाका २६ वर्षीय अर्जुन कुमारलाई मकवानपुर प्रहरीले मंगलबार राती ९ बजेर ५५ मिनेटको समयमा १०० मिलिलिटरको ४० बोतल ओनरेक्ससहित पक्राउ गरेको जनाएको छ ।
पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बिआरओ ५ एक्स ७५१३ नम्बरको भारतीय मोटरसाइकललाई रोकेर सुरक्षाजाँच गर्दा कुमारले शरीरको छातीको भागमा र मोटरसाइकलको मुनी लागूऔषध ओनरेक्स लुकाएर ल्याएको अवस्थामा प्रहरीले बरामद गरेको जनाएको छ । प्रहरीले लागूऔषध, मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती लिई हिरासतमै राखेर अनुसन्धान गरिरहेको छ ।