व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि रामेश्वर राना ।

हेटौंडा : नेकपा एमाले निकट प्रेस चौतारीको २७ औं स्थापना दिवस मकवानपुरमा पनि मनाइएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको हो ।

प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दाहालको सभाध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा नेकपा एमाले मकवानपुरका निवर्तमान अध्यक्ष एकलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि रानाले मिडियाकर्मीहरुको आलोचनात्मक हिसाबले जाने कुरालाई सहजरुपमा स्वीकार्ने र पार्टीको चाहना पनि त्यही भएको बताउनुभयो । पुर्खाले रोपेर हुर्काएको चौतारी आजको पुस्ताले हाँगा भाँच्ने काम गरेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी गर्नुभयो ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले वर्तमान समयमा पत्रकारहरु पत्रकारिता कम दलकारिता ज्यादा भएको बताउनुभयो । सरकारले भर्खरै संसदमा पेश गरेको सञ्चार विधेयक सरकारमा जुनसुकै पार्टी भए तापनि उक्त विधेयक खारेज हुनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै पत्रकार कुनै समयमा पार्टी पक्षधर भएकाले राज्यमा ठूलो समस्या निम्त्याएको र वर्तमान समयमा झन व्यक्ति पक्षधर भएर नै लागी पर्दा पत्रकारिता क्षेत्र नै अस्तव्यस्त बनेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।