हेटौंडाः बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकामा हुन लागेको ५ औं संस्करणको डुमरवाना क्रिकेट प्रतियोगितामा मकवानपुर जिल्ला क्रिकेट संघको टिम सहभागी हुने भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा २६ गतेबाट हुन लागेको क्रिकेट च्याम्पियनसीपमा मकवानपुर सहभागी हुने भएको हो ।

प्रगतिशील युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा मकवानपुरसहित ६ वटा टिमको सहभागिता रहने क्रिकेट संघ मकवानपुरका अध्यक्ष विनोदकुमार बानियाँले जानकारी दिनुभएको छ । आगामी फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गौर क्रिकेट क्लब, इस्टर्न क्रिकेट एकेडेमी, मकवानपुर क्रिकेट संघ, पर्सा क्रिकेट संघ, कलैया क्रिकेट क्लब र आयोजक प्रगतिशील युवा क्लबको सहभागिता रहने उहाँले बताउनुभयो ।

लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुरले आयोजक प्रगतिशील क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । दोस्रो दिन मकवानपुरले इस्टर्न क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्नेछ । गत वर्षको प्रतियोगितामा सहभागी भएको मकवानपुर प्रतियोगिताको विजेता बनेको सचिव बानियाँले बताउनुभयो । प्रतियोगिता प्रगतिशील खेल मैदानमा हुनेछ । प्रतियोगितामा सहभागी भएका प्रत्येक टिमले २ खेल खेल्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडी तथा विधागततर्फ म्यान अफ द सिरिज, उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरका लागि पनि पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।