किशोरीलाई एचपीभी खोप लगाइँदै ।

हेटौँडा : देशभर किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाउन सुरु गरिएको छ । मंगलबार बागमती प्रदेशको राजधानी हेटौँडा–१० स्थित ज्ञानदा माविमा मुख्यमन्त्री बहादुरसिं लामाको प्रमुख आतिथ्यमा खोप लगाउने कार्यक्रम औचापरिक रुपमा उद्घाटन गरिएको छ । बागमती प्रदेशमा २ लाख ९८ हजार ३ सय ५ जना किशोरीलाई एचपीभी खोप लगाइनेछ ।

ज्ञानदा माध्यमिक विद्यालयमा ५५ जना किशोरीलाई खोप लगाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले कतिपय महिलाले पाठेघरको मुखको क्यान्सर रोग लागे पनि लुकाउने गरेको बताउनुभयो । आफूलाई अर्कै दृष्टिकोणले हेर्ने भन्दै महिलाहरुले रोग लुकाउने गरेको पाइएको उहाँको भनाई छ । आगामी फागुन ६ गतेसम्म निशुल्करुपमा एचपीभी खोप लगाइने उहाँले बताउनुभयो । विद्यालयमा अध्ययनरत ६ कक्षादेखि १० कक्षासम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरेर खोप लगाउन सुरु गरिएको हो ।

मकवानपुरका २२ हजार ७ सय १३, चितवनका ३१ हजार ५ सय ७०, धादिङका १३ हजार ९ सय ७३ नुवाकोटका ११ हजार १ सय ७८, रसुवाका १ हजार ६ सय ८६, काठमाडौँका १ लाख ११ हजार १ सय ४ जना, ललितपुरका ३१ हजार ९ सय ८५, भक्तपुरका १९ हजार २ सय ९५, काभ्रेका १६ हजार १ सय १३, सिन्धुपाल्चोकका १० हजार ४ सय ६८, दोलखाका ६ हजार ५ सय २०, रामेछापका ७ हजार ७८ र सिन्धुलीका १४ हजार ६ सय २२ जना किशोरीलाई एचपीभी खोप लगाउने लक्ष्य रहेको छ ।

खोप लगाउन ८ हजार ७ सय ३६ स्वयंसेवक र ४ हजार ३ सय २४ जना कर्मचारी खटिएका छन् । विद्यालयका ६ कक्षादेखि १० कक्षाका २ लाख ७५ हजार ७१ जना किशोरी तथा विद्यालय बाहिरका २३ हजार २ सय ३४ जना किशोरी खोप अभियानबाट लाभान्वित हुने बताइएको छ । नेपालमा हरेक वर्ष २ हजार २ सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । तीमध्ये १ हजार ३ सय महिलाको मृत्यु हुने गरेको छ ।

कार्यक्रममा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्री किरण थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको पनि उपस्थिति रहेको थियो ।