तदर्थ समिति गठनपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा ः पानी उत्पादक उद्योगीहरुको छाता संगठनका रुपमा नेपाल पानी उद्योग महासंघ गठन गरिएको छ । बिहीबार हेटौंडामा भएको उद्योगीको प्रारम्भिक भेलाबाट महासंघ गठन गरिएको हो ।

भेलाले बिक्रम लिम्बु चेम्जोङको नेतृत्वमा २३ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । तदर्थ समितिमा हेटौँडाका ध्रुव अधिकारी महासचिव चयन हुनुभएको छ । गत पुस २६ र २७ गते काठमाडौंमा भएको उद्योगीहरुको भेलाले माघ १७ गते हेटौँडामा प्रारम्भिक भेला आयोजना गर्ने निर्णय गरेको थियो । तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा भरत बुढाथोकी तथा उपाध्यक्षमा रविन्द्रमोहन अधिकारी, पुरुषोत्तम पाण्डे, रुपचन्द्र नौलखा, सवि कार्की, भुवन लोहनी र बिक्रम मण्डल चयन हुनुभएको छ । महासंघको उपमहासचिवमा रेशा श्रेष्ठ र कोषाध्यक्षमा देवनारायण चौलागाईं चयन हुनुभएको छ ।

महासंघको तदर्थ समिति सदस्यहरुमा सहदेव बोलखे, ज्ञानहरि लामा, अनिल आचार्य, टंक सारु मगर, विष्णु हमाल, पदम राउत, शौरभ मारु, कृष्ण आचार्य, नारायण गिरी, साहिल साह, रक्की लामा र उपेन्द्रकुमार खड्का सर्वसम्मत चयन हुनुभएको छ । देशभर झण्डै ७ सयभन्दा बढि पानी उद्योगहरु सञ्चालनमा रहेका छन् । पानी उद्योगमा १५ अर्ब रुपैयाँभन्दा बढि लगानी रहेको र २२ हजारले प्रत्यक्ष रोजगारी पाएको महासंघले जनाएको छ । रोजगारीमा जोडिएका परिवारबाट ६६ हजारले प्रत्यक्ष लाभ लिएको महासंघको भनाइ छ ।

तदर्थ समितिका संयोजक चेमजोङले सबै उद्योगीको हकहित संरक्षण गर्न र नेपालको पानी अन्तर्राष्ट्रिय बजारमा लैजान पहल गर्न महासंघको स्थापना गर्नुपरेको बताउनुभयो । उहाँले महासंघको पारदर्शितामा प्रश्न उठाउने ठाउँ नरहने गरी तोकिएको समयभित्र प्रथम अधिवेशन गर्नेसमेत बताउनुभयो । उहाँले देशभरका सबै पानी उद्योगीहरुलाई महासंघमा गोलबन्द हुन आग्रह गर्नुभएको छ ।

तदर्थ समितिका महासचिव अधिकारीले धेरै लामो प्रयास र छलफलपछि महासंघको घोषणा गरिएको बताउनुभयो । उहाँले सम्पूर्ण पानी उद्योगीहरुको व्यावसायिकतामा सहयोग गर्न र उद्योगीहरुको हकहित संरक्षण तथा व्यवसायीहरुलाई थप उत्तरदायी बनाउन महासंघको घोषणा गरिएको बताउनुभयो । उहाँले वैज्ञानिक तथा आधुनिक प्रविधिको आधारमा पानी उद्योगहरुको विकास गर्नेसमेत बताउनुभयो । भेलामा प्रदेश, संघ, जिल्ला तहमा रहेका संघ, नगर तथा क्षेत्रीय संघका गरी एक सय बढि उद्योगी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।