प्रदेश सभाको सातौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ।

हेटौँडा ः बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संघसँग काम, कर्तव्य र अधिकारका विषयमा प्रदेश सरकारले गुनासो गरिरहेको बताउनुभएको छ । प्रदेश र संघ बीचका अधिकारका विषयहरु समयसँगै सच्चिँदै जाने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्रदेश सभाको सातौं वार्षिकोत्सवमा कार्यक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले प्रदेश सरकारलाई अब गुनासो र बहानाबाजी गर्ने छुट नरहेको बताउनुभयो । प्रदेश संरचनाको बारेमा विभिन्न टीकाटिप्पणी भइरहेका कार्यसम्पादन मार्फत् जवाफ दिनुपर्ने उहाँले बताउनुभयो । प्रदेशसभा र प्रदेश सरकारको औचित्य पुष्टी गर्न जरुरी रहेको उहाँको भनाई छ ।

संसद र मन्त्रिपरिषद्को क्रियाशीलताले प्रदेशसभालाई थप प्रभावकारी बनाउन सक्नु पर्ने उहाँले बताउनुभयो । प्रदेशसभाले यथेष्ट कार्यसूची निर्माण गर्न जनसरोकारका विषयहरु प्रदेशसभामा गुन्जायमान हुन जरुरी रहको प्रदेश प्रमुख देवकोटाले बताउनुभयो । प्रदेशको समग्र विकास र आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने प्रदेश प्रमुख देवकोटाको भनाई छ ।

कार्यक्रममा मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकार विकास र समृद्धिको यात्रामा अघि बढेको बताउनुभयो । प्रदेश सरकारले नीतिगत रुपमा प्रदेशको विकास निर्माणलाई व्यवस्थित गर्ने काम गरिरहेको उहाँले बताउनुभयो । बजेट विनियोजनलाई व्यवस्थित गर्न आयोजना बैंक निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विगतमा भएका कमिकमजोरीलाई सुधार गरेर अलपत्र आयोजनाहरुलाई उत्पादनमा जोड्नेगरी सरकार अघि बढाइएको छ ।

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विकास र सेवा प्रवाहको संरचनाको रुपमा प्रदेश सरकार कायम रहेको बताउनुभयो । प्रदेश सरकारले विकास निर्माण र सवा प्रवाहको सहजता प्रदान गर्न नयाँ मानक निर्माण गरेको उहाँले बताउनुभयो । उहाँले संघीय संरचनाको आलोचना र औचित्य माथि प्रश्न गर्नु व्यर्थ भएको बताउनुभयो । प्रदेश सरकारले विकास निर्माणमा समानुपातिक ढंगबाट रोजगारी र उत्पादनमा लक्षित गरी काम गर्नुपर्ने नेता जम्कट्टेलले बताउनुभयो ।