हेटौंडा: नेपाल बुद्धिचाल महासंघको आयोजनामा आइतबारदेखि जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अन्तर्गत आठौं चरणको खेल सम्पन्न हुँदा एफएम रुपेश जयसवाल र सिन्दिरा जोशीले अग्रता कायम राख्दै उपाधि नजिक पुगेका छन् । २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन जयसवालले सिएम नवीन तण्डुकालाई पराजित गरेका हुन् । जयसवालले पूर्व युवा च्याम्पियन पुरुषोत्तम सिलवालसँग बराबरी खेलेका छन् ।

रौतहटका जयसवालले जारी प्रतियोगितामा २३०५ रेटिङ्ग र्पुयाएका छन् । उनले उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो व्यक्तिगत ३३.८ रेटिङ्ग वृद्धि गर्न सफल भएका छन् । जयसवालले २०९३ रेटिङ्गवाट खेल प्रारम्भ गरेका थिए ।

हेटौंडास्थित होटल सामनाको सभाहलमा चलिरहेको प्रतिस्पर्धामा एफएम क्षितिज भण्डारी, काठमाडौंका पुरुषोत्तम सिलवाल र झापाका राजन सुवेदीले समान साढे ५ अंक जोडेर संयुक्त दोश्रो स्थान ओगटेका छन् । मकवानपुरका क्षितिजले २०९१ रेटिङ्ग स्तरको खेल खेल्दै आफ्नो ६ दशमलब ५ रेटिङ्ग वृद्धि गरेका छन् । उदीयमान पुरुषोत्तमले २०९० को स्तरीय खेल खेल्दै २२ रेटिङ्ग वृद्धि गरेका छन् । वर्तमान नेपाल च्याम्पियन राजनले २१३५ रेटिङ्ग र्पुयाउँदै व्यक्तिगत ३२ दशमलब ८ रेटिङ्ग बढाउन सफल भएका छन् ।

प्रतियोगिताको अन्तिम तीन चरणको खेल बाँकी हुँदा सिएम शुश्रुत दहाल ५ अंक बनाउँदै तेस्रो स्थानमा छन् । झापाका शुश्रुतले २०४२ रेटिङ्ग पूरा गर्दै व्यक्तिगत ५ रेटिङ्ग वृद्धि गरेका छन् । दोलखाका आशीष फुँयाल र काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी ४ दशमलब ५ अंक जोडेर चौथो स्थानमा टिकेका छन् ।

यसैगरी, दशौं महिला राष्ट्रिय बुद्धिचाल स्पर्धामा वर्तमान महिला राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशी उत्कृष्ट प्रदर्शन गरी पुन: उपाधितर्फ बढेकी छिन् । काठमाडौंकी सिन्दिराले ६ दशमलब ५ अंक जोड्ने क्रममा पाँच जीत र तीन खेल बराबरी खेलेकी छिन् ।

नयाँ उदीयमान खेलाडीद्वय बाँकेकी इशा गिरी र काठमाडौंकी एञ्जल महर्जन दुबैले समान ६–६ अंक जोडेका छन् । संयुक्त दोश्रो स्थान प्राप्त गर्ने क्रममा युवा खेलाडी इशाले एक हार, पाँच जीत र दुई खेल बराबर खेलेकी हुन् । यस्तै, युवा एञ्जलले दुई खेलमा हार व्यहोरे भने ६ वटा खेलमा जीतको स्वाद चाखेकी छिन् ।

मोरङकी शान्ति धिमालले एक हार, एक बराबरी र ५ खेलमा जीत हासिल गर्दै ५ दशमलब ५ अंक जोडेर तेस्रो स्थानमा रहन सफल भएकी छिन् भने कीर्तिपुर काठमाडौंकी बिनिता कपालीले तीन हार र पाँच खेलमा जीत हासिल गर्दै सम्भावना जगाएकी छिन् ।

नेपाल बुद्धिचाल महासंघका महासचिव धरमबहादुर लामाका अनुसार राष्ट्रिय प्रतियोगिताको मापदण्ड अनुसार एक खेलमात्र सञ्चालन हुने दिनमा खेलाडीलाई रिफ्रेसमेण्ट दिन हेटौंडाको सहिद स्मारक र मकवानपुरगढी लगायत अन्य पर्यटकीय स्थलमा भ्रमण गराइएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघको स्थानीय रेखदेखमा सञ्चालन भइरहेको राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको थप दुई चरणको खेल शुक्रबार बिहान ९ बजे र दिउँसो ३ बजे हुनेछ ।