रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुहुँदै वडाअध्यक्ष अर्जुन तिवारी ।

हेटौंडाः हेटौंडा–१२ मा वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । वडा खेलकुद विकास समितिको आयोजनामा बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन वडाध्यक्ष अर्जुनप्रसाद तिवारीले गर्नुभएको हो ।

पदमपोखरीको बुद्ध माध्यमिक विद्यालयको भलिबल कोर्टमा भएको प्रतियोगिताको पहिलो खेलमा हेटौंडा–११ ले विजयी सुरुवात गरेको छ । हेटौंडा–१९ लाई ३–० को सोझो सेटले हराउँदै हेटौंडा–११ ले विजयी सुरुवात गरेको हो । हेटौंडा–११ ले हेटौंडा–१९ लाई २५–२१, २५–१२ र २५–२१ ले पराजित गरेको छ । बुधबारै भएको दोस्रो खेलमा हेटौंडा–१५ विजयी भएको छ । हेटौंडा–६ लाई ३–० को सोझो सेटले हराउँदै हेटौंडा–१५ विजयी भएको हो । हेटौंडा–६ लाई हेटौंडा–१५ ले २५–१२, २५–१५ र २५–१५ ले हराएको छ ।

प्रतियोगिता अन्तर्गत बिहीबार समूह चरणको ३ खेलहरु सञ्चालन हुनेछ । पहिलो खेलमा हेटौंडा–१३ र हेटौंडा–१२ को टिमबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा हेटौंडा–६ र हेटौंडा–१५ बीच प्रतिस्पर्धा हुनेछ । यस्तै, तेस्रो खेलमा हेटौडा–१७ र हेटौंडा–१९ को टिमबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान १० बजेबाट सुरु हुनेछ । माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक मनोज लामा स्याङ्तानले जानकारी दिनुभएको छ । प्रतियोगिता आयोजनाका लागि वडा कार्यालयले एक लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रथम पुरस्कार राशि हेटौंडा–१० स्थित नारायणी कलेजले प्रायोजन गर्ने भएको छ । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि ट्रफी र नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

१२ नम्बर वडा खेलकुद विकास समितिका संयोजक दिनेश चौलागाईंको सभाध्यक्षमा भएको उद्घाटन समारोहमा नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्रप्रसाद घिमिरे, सदस्य विजय गौतम, नारायणी कलेजका प्राचार्य रघुनाथ खराल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, मकवानपुर जिल्ला खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीलगायतको आतिथ्य रहेको थियो ।