शैक्षिक प्रदर्शनीमा प्रथम स्थान हासिल गर्ने सेतीदेवी माध्यमिक विद्यालयका विद्यार्थीलाई पुरस्कृत गर्नुहुँदै मन्त्री हरिप्रभा खड्गी ।

हेटौँडा ः बागमती प्रदेशस्तरीय शैक्षिक प्रदर्शनीमा काभ्रेपलान्चोक जिल्लाको सेतीदेवी माध्यमिक विद्यालय प्रथम भएको छ । सोमबार हेटौँडाको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा प्रतियोगितात्मक शैक्षिक सामग्री प्रदर्शनी भएको हो ।

शिक्षा विकास निर्देशनालय, बागमतीको आयोजनामा भएको प्रदर्शनीमा चितवनको सैनिक आवासीय महाविद्यालय द्वितीय र सिन्धुपाल्चोकको कृष्णरत्न गंगा माध्यमिक विद्यालय तृतीय भएको छ । प्रदर्शनीमा धादिङको पासाङचोक महादेव सान्त्वना भएको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी घनश्याम खनालले जानकारी दिनुभयो । १०० पूर्णाङ्कमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयले क्रमशः ७८.७५, ७५.२५, ७४ र ६२.७५ अंक हासिल गरेका थिए ।

प्रदर्शनीको केशव तिमल्सिना, लोकराज शर्मा र विनोद शर्माले मूल्यांकन गर्नुभएको थियो । प्रदर्शनीमा विद्यालयले विज्ञान, गणित, सामाजिक, नेपाली र अंग्रेजी विषयका शैक्षिक सामग्री प्रदर्शन गरिएको थियो । बागमती प्रदेशका १३ वटै जिल्लाका जिल्लास्तरीय शैक्षिक प्रदर्शनीमा उत्कृष्ट विद्यालयले प्रदेशस्तरीय प्रदर्शनीमा सहभागिता जनाएको हो । सहभागी विद्यालयबाट छात्र–छात्रा एक–एक जना र एक जना मेन्टर शिक्षकको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः ३० हजार, २५ हजार, १५ हजार नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा सहभागी विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा पालिकामा प्रथम हुँदै जिल्ला र जिल्लामा पनि प्रथम हुने माध्यमिक तहका विद्यालयहरुको सहभागिता थियो ।

प्रतियोगितामा मकवानपुरको प्रतिनिधित्व गरेको कालिका मावि तालिकको पुछार अर्थात् १३औं स्थानमा रह्यो । कालिका माविले ५५ अंक मात्रै प्राप्त गरेको थियो । एक शिक्षकका अनुसार शैक्षिक प्रदर्शनीमा मकवानपुरको प्रतिनिधित्व गरेको विद्यालयले असाध्यै कमजोर प्रस्तुती गरेको थियो । शिक्षा विकास निर्देशनालयका महानिर्देशक खुविराम अधिकारीको सभाअध्यक्ष तथा प्रदेशको सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।