Home मुख्य समाचार प्रदेशस्तरीय शैक्षिक प्रदर्शनीमा काभ्रेको सेतीदेवी प्रथम, मकवानपुरको कालिका मावि सूचिको अन्तिममा

प्रदेशस्तरीय शैक्षिक प्रदर्शनीमा काभ्रेको सेतीदेवी प्रथम, मकवानपुरको कालिका मावि सूचिको अन्तिममा

शैक्षिक प्रदर्शनीमा प्रथम स्थान हासिल गर्ने सेतीदेवी माध्यमिक विद्यालयका विद्यार्थीलाई पुरस्कृत गर्नुहुँदै मन्त्री हरिप्रभा खड्गी ।

हेटौँडा ः बागमती प्रदेशस्तरीय शैक्षिक प्रदर्शनीमा काभ्रेपलान्चोक जिल्लाको सेतीदेवी माध्यमिक विद्यालय प्रथम भएको छ । सोमबार हेटौँडाको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा प्रतियोगितात्मक शैक्षिक सामग्री प्रदर्शनी भएको हो ।

शिक्षा विकास निर्देशनालय, बागमतीको आयोजनामा भएको प्रदर्शनीमा चितवनको सैनिक आवासीय महाविद्यालय द्वितीय र सिन्धुपाल्चोकको कृष्णरत्न गंगा माध्यमिक विद्यालय तृतीय भएको छ । प्रदर्शनीमा धादिङको पासाङचोक महादेव सान्त्वना भएको शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी घनश्याम खनालले जानकारी दिनुभयो । १०० पूर्णाङ्कमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयले क्रमशः ७८.७५, ७५.२५, ७४ र ६२.७५ अंक हासिल गरेका थिए ।

प्रदर्शनीको केशव तिमल्सिना, लोकराज शर्मा र विनोद शर्माले मूल्यांकन गर्नुभएको थियो । प्रदर्शनीमा विद्यालयले विज्ञान, गणित, सामाजिक, नेपाली र अंग्रेजी विषयका शैक्षिक सामग्री प्रदर्शन गरिएको थियो । बागमती प्रदेशका १३ वटै जिल्लाका जिल्लास्तरीय शैक्षिक प्रदर्शनीमा उत्कृष्ट विद्यालयले प्रदेशस्तरीय प्रदर्शनीमा सहभागिता जनाएको हो । सहभागी विद्यालयबाट छात्र–छात्रा एक–एक जना र एक जना मेन्टर शिक्षकको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः ३० हजार, २५ हजार, १५ हजार नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा सहभागी विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा पालिकामा प्रथम हुँदै जिल्ला र जिल्लामा पनि प्रथम हुने माध्यमिक तहका विद्यालयहरुको सहभागिता थियो ।

प्रतियोगितामा मकवानपुरको प्रतिनिधित्व गरेको कालिका मावि तालिकको पुछार अर्थात् १३औं स्थानमा रह्यो । कालिका माविले ५५ अंक मात्रै प्राप्त गरेको थियो । एक शिक्षकका अनुसार शैक्षिक प्रदर्शनीमा मकवानपुरको प्रतिनिधित्व गरेको विद्यालयले असाध्यै कमजोर प्रस्तुती गरेको थियो । शिक्षा विकास निर्देशनालयका महानिर्देशक खुविराम अधिकारीको सभाअध्यक्ष तथा प्रदेशको सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

Exit mobile version