हेटौंडाः संस्थागत विद्यालयका शिक्षक, कर्मचारीले बुधबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाललाई ज्ञापनपत्र बुझाएका छन् । संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) राष्ट्रिय समिति सचिव एवम् प्रकाशन विभाग प्रमुख दीपक गौतम, इस्टु राष्ट्रिय समिति सदस्य तथा प्रदेश नम्बर २ का कार्यवाहक इन्चार्ज सुदिप बर्ताैला, इस्टु मकवानपुरका अध्यक्ष सचिन लामा, हेटौंडा उपमहानगर अध्यक्ष सिएम रिमालसहित शिक्षकको एक समूहले मन्त्री दुलाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझनुहुँदै सामाजिक विकास मन्त्री युवराज दुलालले निजी शैक्षिक क्षेत्र सेवा र व्यावसायिक पनि भएकोले शिक्षकहरुको साथ दिने बताउनुभयो । विद्यालयलाई अप्ठेरो पर्यो भनेर शिक्षकहरुलाई निकाल्न नहुने उहाँले बताउनुभयो । उहाँले प्रदेश सरकारले अब प्याव्सन र एनप्याव्सनसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताउनुभयो । आन्दोलनरत शिक्षकहरुले नेपालमा राज्य नै छैन कि भन्ने अनुभुति भएको बताएका छन् । विज्ञप्तिमा शिक्षक, कर्मचारीलाई पुरै तलब उपलव्ध गराउन, शिक्षक कर्मचारीलाई निष्कासन नगर्न, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य सुचिकृत हुन उल्लेख गरिएको थियो ।
बुधबार नै मुख्यमन्त्री डोरमणि पौडेललाई पनि ज्ञापनपत्र बुझाउने भनिए पनि मुख्यमन्त्रीको व्यस्तताका कारण बुधबार ज्ञापनपत्र बुझाउन सम्भव नभएको इस्टु मकवानपुरका अध्यक्ष सचिन लामाले जानकारी दिनुभयो । सम्भव भएसम्म आज बिहीबार मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जानकारी गराउनुहुँदै इस्टु मकवानपुरका अध्यक्ष लामाले आज बिहीबार इस्टुले जिल्ला समन्वय समिति मकवानपुर, शिक्षा विकास तथा समन्वय इकाई र हेटौंडा उपमहानगरपालिकामा यसअघि नै बुझाइसकेको ज्ञापनपत्रका बारेमा अवगत गराएर समस्या समाधानका लागि पहल गरिदिन पुनः आग्रह गरिने बताउनुभयो ।