जेसीआई हेटौँडा वर्ष २०२५ का लागि पदस्थापित अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरु ।

हेटौंडा ः जेसीआई हेटौंडा वर्ष २०२५ को अध्यक्ष पंकज दास बनियाँ पदस्थापित भएको छ । बुधबार हेटौंडामा एक समारोहबीच जेसीआई हेटौंडा वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले बनियाँलाई अध्यक्ष पद हस्तान्तरण गर्नुभएको हो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यमा ४७ औं पदस्थापना तथा पुरस्कार वितरण समारोह भएको हो । कार्यक्रममा जेसीजका पूर्व पदाधिकारी, बोर्ड सदस्य, सल्लाहकारहरुलाई मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको छ । वर्ष २०२४ का उत्कृष्ट बोर्ड सदस्य सञ्जय न्यौपानेलाई सम्मानपत्र प्रदान गरिएको छ । सन् २०१८ मा जेसीजको सदस्यमा स्थापित गराउनुहुने रविन नेपाललाई विकेशलाल श्रेष्ठले सम्मानपत्र प्रदान गर्नुभयो । जेसीआई हेटौंडाको कार्यकारिणी उपाध्यक्षमा निर्वाचित हुनुभएका सन्तोष पराजुली, विश्वप्रसाद गौतम, उपाध्यक्षमा किरण आले, विवेक फुयाँल, कुशल रिजाल र प्रविण श्रेष्ठको पदस्थापना भएको छ ।

जेसीआई हेटौंडाका १ सय ९९ सदस्य रहेका छन् । ४ दशकदेखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै समाजको समसामयिक विषयमा कलम चलाएको भन्दै वरिष्ठ पत्रकार प्रताप बिष्टलाई सम्मान गरिएको छ । कार्यक्रममा ९ नम्बर वडाका वडाध्यक्ष सुकराम केसीलाई मानार्थ सदस्यता प्रदान गरिएको छ । पदस्थापन कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, ११ नम्बर वडाध्यक्ष जुना दहाललगायतको उपस्थिति रहेको थियो ।