हालै हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाका अध्यक्षको सक्रियतामा हेटौँडाका दुई ठूला विद्यालय गाभेर मेघा स्कूल बनाउने कार्यदल बनेको छ । २०१६ सालमा स्थापना भएको भुटनदेवी र २०२४ सालमा स्थापना भएको आधुनिक दुइवटै विद्यालयको आआफ्नै अलग–अलग ऐतिहासिक, सामाजिक अस्तित्व छ । दुई ठूला विद्यालयलाई गाभेर मेघा स्कूल बनाउनुपर्ने महत्वाकांक्षा किन आइपर्यो ? अहिलेको आवश्यकता भनेको दुई ठूला व्यवस्थित रुपमा सञ्चालन भइरहेको विद्यालयका विद्यार्थीलाई एकै ठाउँमा राखेर भद्रगोल बनाउने हो कि, अहिलेको आवश्यकता व्यावसायिक र सीपयुक्त र सक्षम नागरिक उत्पादन गर्न दुबै विद्यालयलाई नीति निर्माण गरेर साधन सम्पन्न बनाउने ?
केहि व्यक्तिहरुको अहम् र तुष्टि मात्र गर्न यो काम गर्न लागेको हो भने यो प्रत्युपादक मात्र हुनेछ । निरंकुश पञ्चायत कालमा निरंकुशतालाई स्विकार्न नचाहने स्वाभिमानी शिक्षकलाई व्यवस्था विरोधीको संज्ञा दिएर दबाइन्थ्यो । हक, अधिकार प्राप्त राज्यसंयन्त्रमा बसेका ठालुहरुले आफूभन्दा तलका नागरिकलाई उहिले पनि मिचेकै थियो । अहिले पनि मिच्ने नै गर्दै आइरहेको छ ।
हेटौँडा चिसापानीका किसानहरुले खनजोत गरी हराभरा बनाएको १२० बिगाहा भन्दा बढी जमिन तात्कालिन राजा महेन्द्रले राजदरबारका १५ जना सचिव र सरदारहरुलाई हुकुम प्रमाङ्गी गरेर दिएपछि निमुखा आन्दोलनकारी किसानहरुको समर्थन गरेकै कारण शिक्षकहरुप्रतिको प्रतिशोधका कारण तत्कालिन नारायणी अञ्चलाधीश दामोदर शमशेरको निर्देशनमा १ देखि १० कक्षासम्म चलेको विद्यालयलाई टुक्र्याएर आधुनिकलाई १ महिना भित्र भुटनदेवीको चौघेराबाट बाहिर लैजान निर्देशन दिएको थियो । तर सबै शिक्षक अभिभावकको सद्भाव र समर्थनमा आधुनिकले त्यस स्थानबाट अन्त नजाने तर जस्तै दुःख र संघर्ष गर्नु परे पनि गर्ने अठोटका साथ एक वर्षसम्म साना–साना बालबालिकाले पुस, माघको चिसोमा बिहान र गर्मीमा दिउँसो रुखको छहारीमा पढेर जन्माएको विद्यालय हो आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय । यसरी ढुङ्गा, माटो, इट्टा, काठ, चिसापानीगढीका पुराना जस्ता जम्मा गरेर प्राकृतिक र राजनैतिक आँधी, हावा–पानी, हुरीबाट जोगाउँदै २० औं बर्षदेखि जिल्लामै प्रथम भएर नमूना विद्यालयको रूपमा इज्जत र प्रतिष्ठाका साथ स्थापित भएको विद्यालय हो आधुनिक ।
यो इज्जत र प्रतिष्ठा कायम गरेर छाप्रोबाट ५७ वर्षपछि यो स्थितिमा आइपुग्न हाम्रा शिक्षक साथीहरू विद्यालयप्रति सहयोग समर्थन जुटाउने अभिभावक, सञ्चालक, शुभेच्छुकहरुले थुप्रै पसिना बगाउनु भएको छ । बालबालिकाहरुको भविष्य निर्माण गर्ने शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन यहि विद्यालयको चौघेरा भित्र शिक्षक साथीहरूले त्याग, तपस्या र जेल–नेलको पनि सामना गर्नुपरेको छ । हजारौं हजार बालबालिकाको सद्भाव र सम्मान पाउने मर्यादित र सम्मानित शिक्षण पेसालाई अहिलेको सरकार र पदमा बस्नेहरुले माखो जति पनि सम्झेको छैन ।
यसरी नै हेटौँडामा पहिले स्थापना भएको भुटनदेवी माध्यमिक विद्यालयको पनि आफ्नै गौरवशाली इतिहास छ । एक दुई रुपैयाँ विद्यार्थीसँग चन्दा उठाएर आधा पेट पालेर पनि निरन्तर संघर्ष गर्दै यो विद्यालयले प्रारम्भिक अवस्थादेखि नै योग्य र सक्षम नागरिक जन्माउँदै आएको छ । नाम चलेका डाक्टर, इन्जिनियर, सांसद, मन्त्री, उद्योगी, शिक्षक र सामाजिक अभियन्ताहरु यहि विद्यालयबाट सक्षम नागरिक भएर आएको इतिहास छ । शिक्षण पेसा मर्यादित सम्मानित र निर्धक्क भएर पढाउने वातावरण भयो भने मात्र शिक्षकले काम गर्न सक्छन् । यहि नारा बोकेर पेन्सन, उपदान र संगठित हुन पाउनका लागि यहि भुटनदेवीको मैदानबाट राष्ट्रव्यापी आन्दोलनको शंखनाद गरेको थियो । पञ्चायात कालको उग्र दमन, जेल–नेल भोगेको थियो । जसको प्रतिफल आजका शिक्षकहरुले पाइरहेका छन् ।
विद्यालयप्रति सदाशय राख्ने, उन्नति र प्रगति चाहने व्यक्ति संचालक वा सरकार जो कोहि होस् उहाँहरुको निरन्तर प्रयास बालबालिकाहरुको भविष्य निर्माणमा केन्द्रित भएर सघाउने हो । दुबै विद्यालयको इतिहास मेटेर स्ट्न्टबाजीका लागि हो हल्ला गर्ने होइन । हेटौँडाका बालबालिकाको पठनपाठनका लागि २०१८ सालमा गठित राप्ती दुन विकास समितिले विद्यालयको नाममा १० बिगाह जग्गा छुट्याएको हो । सोहि जग्गाको चौघेरामा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय पनि स्थापित भएको छ । यो विद्यालयलाई पूर्वाग्रह र पञ्चायतका प्रेतात्माका अवशेषले विगत केहि वर्षअघिसम्म बाटोसम्म थुन्ने निरन्तर प्रयास गरेको थियो ।
भुटनदेवी माध्यमिक विद्यालयको अनुपातमा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले चर्चेको थोरै मात्र जग्गा छ । यो विद्यालयको पुूर्वपट्टी बाटो खोलेर बालबालिकालाई सहज बनाउनु जिम्मेवार नागरिकको कर्तव्य हो । दुबै विद्यालयमा पढ्ने बालबालिकाहरु यहि भेगका साधारण नेपाली जनताका छोराछोरी हुन् । दुबै विद्यालयलाई उचित वातावरण श्रृजना गरेर स्वस्थ प्रतिस्पर्धा गराएर असल र कामयावी नागरिक उत्पादन गर्नु असल नागरिक र जिम्मेवार व्यक्तिको कर्तव्य होइन र ?
हेटौँडाको परिवेशमा भुटनदेवी र आधुनिकले ऐतिहासिक, सामाजिक र राजनीतिक रुपले बेग्लै पहिचान बनाएर यस ठाउँमा आफ्नो छवी छाड्न सफल भएको छ । यो इतिहासलाई मेट्ने कसैलाई अधिकार छैन । अहिले केहि व्यक्तिहरु जानेर वा नजानेर आफ्नो इज्जत र प्रतिष्ठाका साथ व्यवस्थित रुपमा संचालन भैरहेको विद्यालयलाई एकीकृत गर्ने नाममा स्ट्न्टबाजी गर्दैछन् । स्वाभिमानी शिक्षक, चेतनशील अभिभावक र नागरिकहरु टुलुटुलु हेरेर बसिरहेका छैनन् । राजनैतिक दल र त्यसको छाँयामा भौँतारिरहेका व्यक्तिहरुले सर्वसाधारण जनताको मनसाय बुझेर मात्र काम गर्दा फलदायी हुन्छ ।
(श्रेष्ठ भुटनदेवी माध्यमिक विद्यालय र आधुनिक राष्ट्रिय मावि दुबैमा प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गर्नु भई सेवानिवृत्त शिक्षक हुनुहुन्छ ।)