फाइल तस्वीर ।

हेटौंडाः हेटौंडामा दोस्रो संस्करणको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । क्रियटिभ तेक्वान्दो डोजाङको आयोजनामा माघ १६ र १७ गते हेटौंडा–१७, हटियामा दोस्रो संस्करणको खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको हो ।

२ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महिला र पुरुष खेलाडीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा केरोगी (फाइट) विधामा पुरुषतर्फ १८ केजीदेखि ६२ केजी तौल समूहसम्मका खेलाडीहरुको सहभागिता रहनेछ । महिलातर्फ २१ केजीदेखि ५५ केजी तौल समूहसम्मका खेलाडीहरुको सहभागिता रहनेछ । पुम्से विधामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहसम्मका खेलाडीहरुको सहभागिता रहनेछ ।

तेक्वान्दोका खेलाडीहरु उत्पादन गर्न, खेलाडीको कला प्रदर्शन गर्न र तेक्वान्दो खेलको विकास गर्नका लागि पुम्से र केरोगी विधामा प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ । प्रतियोगितामा देशका विभिन्न डोजाङबाट आउने खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई स्वर्ण, रजत र काँस्य पदकसहित प्रमाणपत्र प्रदान गरिने छ भने विजेता र उपविजेता टिमलाई पनि ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने ।

प्रतियोगिता आयोजनाका लागि बागमती प्रदेश खेलकुद विकास परिषद् र हेटौंडा उपमहानगरपालिकाको सहयोग रहनेछ । प्रतियोगितामा हटिया खेलकुद विकास समिति र मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको पनि सहकार्य रहनेछ ।

पहिलो संस्करणको तेक्वान्दो प्रतियोगिताको उपाधि काठमाडौंको चन्द्रागिरी तेक्वान्दो डोजाङले जितेको थियो भने आयोजक क्रिएटिभ तेक्वान्दो डोजाङ उपविजेता बनेको थियो । किरण तेक्वान्दो डोजाङ तृतीय भएको थियो । चन्द्रागिरी डोजाङले ११ स्वर्ण, १० रजत र १२ काँस्य पदक जितेको थियो । अयोजकले ५ स्वर्ण, १२ रजत र १४ काँस्य पदक जितेको थियो भने किरण तेक्वान्दो डोजाङले ४ स्वर्ण, ७ रजत र ४ काँस्य पदक जितेको थियो । गत वर्षको प्रतियोगितामा ३ सय जनाभन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो ।