हेटौंडाः नेकपा एमाले निकट नेपाल राष्ट्रिय युवा संघ मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाललाई ध्यानाकर्षण गराएको छ । युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटीसहितको टोलीले सामाजिक सञ्जालमार्फत् एआईको दुरुपयोग बढेको भन्दै बिहीबार प्रमुख जिल्ला अधिकारी चिलुवाललाई ज्ञापनपत्र बुझाइएको हो ।
प्रविधिको विकास भएसँगै आधुनिक प्रविधिको बढ्दो दुरुपयोगले समाज र व्यक्तिविरुद्धमा विभिन्न अनैतिक र आपत्तिजनक विषयहरु निर्माण गरेको ज्ञापनपत्रमा जनाइएको छ । व्यक्तिको चरित्र हत्या गर्ने, धार्मिक सांस्कृतिक मूल्य मान्यतामा खलल पुर्याउने, प्रविधिको प्रयोग र समाजमा भ्रम फैलाउने झुठा समाचार र प्रसारण सामग्री तयार गर्ने, फोटो भिडियो र आवाजको नक्कल गरी परिवर्तन गरिएको सामग्री बनाउने कामहरु भइरहेको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।
अध्यक्ष नगरकोटीले ध्यानाकर्षणपत्रमार्फत् सामग्री प्रसारण, प्रकाशन गरी व्यक्तिको प्रतिष्ठा गिराउन नकारात्मक र भ्रमपूर्ण सूचना सामाजिक सञ्जाल र अन्य प्लेटफर्ममा फैलाउने कार्य तिव्र गतिमा भइरहेकाले नियन्त्रण गर्न माग गरिएको छ । गलत र भ्रमपूर्ण सामग्री प्रकाशन, प्रसारण गर्ने व्यक्ति, संस्था, सञ्जालहरुलाई रोक्न आवश्यक भइसकेको भन्दै राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले त्यसका लागि आवश्यक प्रक्रियालाई अगाडि बढाउन प्रमुख जिल्ला अधिकारी चिलुवाललाई ज्ञापनपत्र बुझाउँदै माग गरेको छ ।
मुलुकमा अहिलेको परिवर्तन जनआन्दोलनमा युवाहरुले निर्वाह गरेको सक्रिय र नेतृत्वदायी भूमिकाका कारण सम्भव भएको अध्यक्ष नगरकोटीले बताउनुभयो । युवा स्वरोजगार, विदेशबाट फर्कने युवालाई सर्वसुलभ ऋण तथा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋणको व्यवस्था, युवा मन्त्रालय, युवा परिषद्को स्थापना, मतदाता परिचयपत्रको व्यवस्था, रोजगारीको ग्यारेण्टी, बेरोजगार भत्ताको व्यवस्था, रोजगारमुलक प्राविधिक शिक्षाको व्यवस्था, १६ वर्ष उमेरमा मताधिकार जस्ता नीतिगतरुपमा उठाइएका माग र मुद्दाहरु सरकारले पूरा गर्नुपर्ने ज्ञापनपत्रमार्फत् उहाँले बताउनुभयो ।
सामाजिक आन्दोलन तथा अभियान चलाउँदै आएका संस्थाले विकास र समृद्धिका लागि युवाका मुद्दा र सवालहरुलाई प्रष्टताका साथ अगाडि सार्ने काम गरेको उहाँको भनाइ छ । संगठनका तर्फबाट अगाडि बढाइएको माग र मुद्दाहरु, युवाहरुलाई आकर्षित गर्ने किसिमको सूचनामूलक विषयहरुले सिंगो युवा आन्दोलनमा राष्ट्रिय युवासंघ नेपालले नेपाली युवाको हकहित र अधिकारका साथै प्रगतिशील राजनैतिक व्यवस्थाका पक्षमा आफ्नो आन्दोलन केन्द्रित गरेको उहाँले बताउनुभयो ।











