हेटौंडा ः सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता मकवानपुरको बागमती गाउँपालिकाको आफ्नै रंगशालामा हुने भएको छ । आइतबार गाउँपालिकामा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताको आयोजना पालिकाको आफ्नै रंगशालामा गर्न लागेको जानकारी गराएको हो ।
बागमती गाउँपालिकामा निर्माण गरिएको शहीद स्मृति रंगशालाको उद्घाटन भएसँगै आगामी फागुनमा बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता २०८१ गर्न लागिएको गाउँपालिकाको खेलकुद विकास समितिले जनाएको छ । फापरबारीको जनता माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिताको आयोजना गरिँदै आएको समितिका सचिव प्रमोद राईले बताउनुभयो ।
फुटबल खेलको प्रवद्र्धन गर्नका लागि पालिकाले निकट भविष्यमा फुटबल एकेडेमी सञ्चालनमा ल्याउने तयारी गरेको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताउनुभएको छ । अध्यक्ष घलानले व्यावसायिक खेलाडी उत्पादन गर्न पालिकाले विगतका वर्षदेखि प्रतियोगिता सञ्चालनमा सहयोग गर्दै आएको बताउनुभयो । गत वर्षको प्रतियोगिताको उपाधि मच्छिन्द्र युथ क्लब काठमाडौंले जितेको थियो ।
पत्रकार सम्मेलनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर घर्ती, लेखा अधिकृत झम्कनारायण घलान, मकवानपुर जिल्ला फुटबल संघ कार्यवाहक अध्यक्ष अरुण बल, गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षको उपस्थिति रहेको थियो । प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाको ३० लाख सहयोग रहेको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा ‘ए’ डिभिजन ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि ७४ लाख ७३ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ । म्यान अफ द म्याचलाई दश हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने खेलकुद विकास समिति सचिव राईले बताउनुभयो ।