हेटौँडा ः हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलमा साँस्कृतिक, शैक्षिक प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम सुरु भएको छ । तहगत विद्यार्थीको प्रस्तुती रहने गरी आइतबार सुरु भएको कार्यक्रम आगामी माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।
अर्धवार्षिक परीक्षा सकिएलगत्तै विद्यार्थीलाई पुनर्ताजगी हुने गरी कला प्रदर्शनीको अवसर प्रदान गरिएको विद्यालयले जनाएको छ । झण्डै एक साता चल्ने कार्यक्रमको पहिलो दिन आइतबार नर्सरी, एलकेजी र युकेजी कक्षाका विद्यार्थीको प्रस्तुती रह्यो । विद्यार्थीले उद्घोषण, नृत्य, गायन, नाटक कला प्रस्तुत गरेका छन् । सोमबार १ कक्षादेखि ३ कक्षासम्मका विद्यार्थीको प्रस्तुती रहनेछ । बुधबार कक्षा ४ र ५ को, बिहीबार कक्षा ६ देखि ९ सम्मका विद्यार्थीको साँस्कृतिक प्रस्तुती रहने जनाइएको छ । यस्तै शुक्रबार शैक्षिक प्रदर्शनी हुनेछ ।
अर्धवार्षिक परीक्षामा उत्कृष्ट नतीजा हासिल गर्नेका विद्यार्थीलाई कक्षागतरुपमा पुरस्कृत समेत गरिएको छ । विद्यालयले विद्यार्थीको आत्मबल बढाउन, सिकेका कुरा प्रस्तुत गर्न, शिक्षा, ज्ञान, सीप क्षमताको विकास गर्ने लक्ष्यसहित साँस्कृतिक, शैक्षिक प्रदर्शनीको आयोजना गरेको प्रिन्सीपल विनोद सुवेदीले जानकारी दिनुभयो । विद्यालयले खेलकुदका क्रियाकलापलाई पनि अगाडि बढाउने प्रिन्सीपल सुवेदीको भनाइ छ ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेशप्रसाद भण्डारीको अध्यक्षता तथा वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यमा आइतबार उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा वडा सदस्य सुरज बर्तौला, ईन्द्रप्रसाद रिजाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिनाको पनि आतिथ्य रहेको थियो ।