सम्मान पश्चात सामुहीक तस्वीर खिचाउँदै ।

हेटौंडाः हेटौंडा नगरका प्रथम प्रधानपञ्च वासुदेव रिजालको स्मृति ग्रन्थ लोकार्पण तथा सम्मान समर्पण कार्यक्रम सम्पन्न भएको छ । शनिबार वासुदेव रिजाल स्मृति प्रतिष्ठान हेटौंडाले एक कार्यक्रम आयोजना गरी ग्रन्थ लोकार्पण र सम्मान समर्पण गरेको हो ।

वासुदेव रिजाल स्मृति प्रतिष्ठानका अध्यक्ष रामचन्द्र (आरसी) रिजालको सभाध्यक्ष र हेटौंडा उपमाहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा अग्रज लोकगायक सोमबहादुर घलान र समाजसेवी कृष्णप्रसाद नेपाललाई सम्मान गरिएको छ । गायक घलानलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । समाजसेवी नेपाललाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले जसरी वासुदेव रिजालले गरेका काम अमर छन्, त्यसरी नै हामीले गरेको काम कहिले खेर नजाने बताउनुभयो । वासुदेव रिजालको पालामा स्रोत साधन कम भए पनि प्रभावकारी विकास भएको भन्दै आज स्रोत साधन, जनशक्ति भए तापनि सोचेजस्ते विकास गर्न नसको उहाँको भनाइ छ । रिजालको पालाका कोरिएका रोडको डिजाइन र विकास आजसम्म पनि उत्तिकै सार्थक भएको नगर प्रमुख लामाले बताउनुभयो । कार्यक्रममा वासुदेव रिजाल स्मृति प्रतिष्ठानका सदस्यहरु, रिजाल स्मृति प्रतिष्ठानका सदस्यहरु र मकवानपुरका साहित्यकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।