हेटौँडा ः मकवानपुरको मनहरीमा सवारी दुर्घटनामा घाइते भएका एक जनाको मुत्यु भएको छ । दुर्घटनामा घाइते भएका १४ जना मध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक श्यामु अर्यालका अनुसार दुर्घटनामा कार चालक हेटौडा–४ स्कुलरोडका ६० वर्षीय सुरेन्द्र लाल श्रेष्ठको मृत्यु भएको हो । दिउँसो ३ बजेको समयमा चितवन स्थित भरतपुर अस्पतालमा उपचारको क्रममा श्रेष्ठको मृत्यु भएको प्रहरी नायव उपरिक्षक अर्यालले बताउनुभयो ।

शनिबार दिउँसो १ बजेको समयमा मनहरी गाउँपालिका–६ डिपार्टस्थित पूर्व पश्चिम सडक खण्डमा स्कर्पियो र कार आपसमा ठोक्किँदा भएको दुर्घटनामा १४ जना घाइते भएका थिए । प्रहरी नायव उपरिक्षक अर्यालका अनुसार वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कारपियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा कारमा सवार चितवन राप्ति नगरपालिका–२ गड्यौली बस्ने ५५ वर्षीय ओम कुमार श्रेष्ठ सोही स्थान बस्ने ५० वर्षीया सुनिता श्रेष्ठ, २१ वर्षीया सुमिना श्रेष्ठ रहेका छन् ।

दुर्घटनामा स्कार्पियोमा सवार पर्सा वीरगंज महानगरपालिका–२ छपकैया बस्ने २६ वर्षीया पुजा देवि शाह, निजको छोरी ८ वर्षीया प्रियान्सि शाह, सोही स्थानकी २३ वर्षीया सुरदी देवी, २१ वर्षीया निशा कुमारी शाह, १५ वर्षीय ओम शंकर शाह, १९ वर्षीय राजिव कुमार शाह, १९ वर्षीया आरती कुमारी शाह, ४ वर्षीया दिव्या कुमारी शाह, १६ वर्षीय सरोज शर्मा र १९ वर्षीय रोशनी शर्मा घाइते भएको प्रहरी नायव उपरिक्षक अर्यालले बताउनुभयो । उनिहरुको चितवन स्थित एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ ।