हेटौंडा ः नेपालको कानूनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्नुलाई दण्डनीय मानेको छ । अविवाहित महिला गर्भवती हुने अवस्थालाई सामान्यतः नेपाली समाजले कल्पना समेत गर्दैन । २० वर्ष भन्दा कम उमेरमा गर्भवती हुनु महिलाको शारीरिक, मानसिक, व्यक्तिगत विकासका हिसाबले उपयुक्त नहुने निश्कर्षका साथ विवाहको उमेर २० वर्ष कायम गरिएको हो । तर, कानूनमा उल्लेख भए विपरित २० वर्षभन्दा कम उमेरमा विवाह मात्रै नभई गर्भवती समेत भइरहेका छन् ।
मकवानपुरको बागमती गाउँपालिकाले आयोजना गरेको अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा शिविरमा २७ जना २० वर्षभन्दा कम उमेरकी किशोरीले गर्भ परीक्षण गराएका छन् । बागमती गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख दिनेश कुमार गुप्ताका अनुसार अल्ट्रासाउण्ड शिविरमा ९६ महिलाले गर्भ परीक्षण गराउँदा २० वर्ष भन्दा कम उमेरका २७ जनाले गर्भ परीक्षण गराएका छन् । बागमती गाउँपालिका १ नम्बर वडाका ३ जना, २ नम्बर वडाका ७ जना, ३ नम्बर वडाका १ जना, ४ नम्बर वडाका २ जना, ५ नम्बर वडाका ४ जना, ६ नम्बर वडाका ६ जना र ७ नम्बर वडाका ४ जना गर्भवती २० वर्षभन्दा कम उमेरका थिए ।
पुस ५ गतेबाट बागमती गाउँपालिका–२ स्थित राईगाउँ स्वास्थ्य चौकीमा गर्भवती परीक्षण शिविरको आयोजना गरिएको थियो । गाउँपालिकाले हरेक महिना ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम सञ्चालन गर्दै आएको गुप्ताले जानकारी दिनुभयो । यस्तै ८ र ९ नम्बर वडाका गर्भवतीका लागि भने पालिकाले आइतबारसम्ममा अल्ट्रासाउण्ड सेवा प्रदान गर्नेछ ।