इ. १६२८ देखि इ. १७६७ सम्म आइपुग्दा केपुचिन पादरीहरुले झण्डै काठमाडौं उपत्यकाभित्र नै ३९ जना नेपालीलाई क्रिश्चियन बनाइसकेका थिए । (गौतम, २०५७ः१८; थापा, २०५३ः३४) । नेपालमा इसाईकरण विस्तारलाई हेर्दा करीब इ.सं. १७६९ देखि इ.सं. १९५१ सम्म नै झण्डै झण्डै विश्राम लागेको अवस्था थियो । पृथ्वीनारायण शाह उपत्यकासहितको अर्थात नेपालको राजा भएपछि पादरीहरुको तीव्र प्रचार र प्रभावलाई हेरी विभिन्न शङ्का उत्पन्न भई उनले यहाँ रहेका करीब ५७ जना जति प्रजाहरुलाई नेपाल छोड्ने आदेश जारी गरे । पादरीहरु पनि अब यहाँ धर्म परिवर्तन गराउन सहज नहुने स्थिति देखेर भारतको वेतियातर्फ झर्न पुगे (खतिवडा, दहाल, २०६७ः१२७) ।
तर इ.सं. १९५१ पछि भने फेरि ह्वात्तै इसाईकरण बढ्न थाल्यो । छिमेकी भारतले हडपेको दार्जीलिङमा क्रिश्चियन बनेका नेपाली मार्फत इसाई धर्म प्रचारमा व्यापकता आयो भने अन्य राज्यहरुको सहर मिजोरम, नागाल्याण्ड, आसाम, मेघालय हुँदै नेपालमा विस्तार हुनमा बल पु¥याएको थियो । नेपाल एकीकरणका निर्माता पृथ्वी नारायाण शाहदेखि अन्तिम राणा शासक मोहन शम्शेरको पालासम्म नेपालमा इसाई धर्मले शिर ठाडो पार्न सकेको थिएन । २००७ सालमा प्रजातन्त्रको स्थापना भए पश्चात नेपालमा इसाई धर्म बढ्न थालेको हो । २०१७ साल पौषमा पञ्चायत व्यवस्था लागु भएपछि खुल्लम खुल्ला धर्म प्रचारमा रोक लगाउनुको साथसाथै धर्म प्रचार गरेको पाईएमा जेल सजाय समेत हुने गरेको थियो । सम्मानित सर्वोच्च अदालतले धर्म परिवर्तन सम्बन्धी दिएको एउटा फैसला हेर्नुस् ।
२००७ सालमा ब्राम्हण कुलको गौतम परिवारमा जन्मी १० वर्षको उमेरमा बाबु आमाको मृत्यु पश्चात तानसेनमा रहेको मिसन अस्पतालको डाक्टर जेसिज पेडले इसाई बनाएको ‘सामुयल शर्मा’ भन्ने सुमन कुमार शर्मा, सिक्किम निवासी निकानोर तामांग, हिन्दु परिवारमा जन्मी भारतमा गएर इसाई बनेको दीर्घराज भट्ट समेतलाई २०४४ सालमा अदालतले धर्म परिवर्तनको कसुरमा जेल सजाय भएको र निजहरुको पुनरावेदन जायज नभएको ठहर गर्दै सर्वोच्च अदालतबाट २०४६ जेष्ठ ९ गते थप डेढी सजाय भएको थियो । (नेपाल कानून पत्रिका) ।
पंक्तिकारको वासस्थान रहेको ईलाकामा हिन्दु, बौद्ध, किराती, मुस्लिमदेखि नव इसाईहरु समेतको बसोबास रहेको छ । २०४६ साल भन्दा अगाडिसम्म हिन्दु तथा बौद्ध समुदायको अत्याधिक बसोबास रहेको थियो । अहिले भुसको आगो जस्तै गरी इसाई धर्म फैलिँदै छ । पंक्तिकारले मान्दै आएको धर्म सनातनी हिन्दु धर्म हो । हिन्दु धर्मको ग्रन्थमा प्रार्थना गरेर रोग निको पारी दिन्छु भनेर कहीँ कतै लेखिएको छैन । त्यस्तै अन्य धर्महरुमा पनि ईश्वरको प्रार्थना ग¥यो भने रोग च्वाट्ट निको हुन्छ भनेर पक्कै पनि लेखिएको छैन होला ।
इसाई धर्म प्रचारकहरुले धर्म प्रचार गरी आफ्नो समुदायमा पारेपछि प्रभुको प्रार्थना गर्यो भने रोग लाग्दैन । रोग लागिहाल्यो भने पास्टरले प्रार्थना गरिदियो भने रोग निको हुन्छ भनेर उपचार गर्न जान दिँदैनन् । जसको कारणले गर्दा मानिसको मृत्यु हुन्छ । त्यसरी मृत्यु भएको आफ्नो समुदायको मानिसको मृत्यु संस्कार पनि गुपचुपमै गरिन्छ ।
केहि वर्ष अगाडि पंक्तिकारको वडामा रहेको एकजना तामाङ जातिको जेष्ठ नागरिक सिकिस्त बिरामीमा परे । आफ्नो उपचारका लागि छोरालाई निकै अनुरोध गरे । छोरा इसाई धर्मको पास्टर रहेछन् । अस्पताल जानु हुन्न । प्रभु रिसाउनु हुन्छ । प्रभुको प्रार्थना गरी दिन्छु रोग निको हुन्छ भनेर बाबुलाई आश्वस्त परेछन् । बुझिए अनुसार निजलाई क्यान्सर भैसकेको थियो । ६ महिनापछि मृत्यु भयो । पंक्तिकारकै जिल्लाको उत्तरी पश्चिममा रहेको बिकट ईलाका राक्सिराङमा चेपाङ जातिका इसाई पास्टर सिकिस्त बिरामी भए । अब पनि औषधि नगर्ने हो भने बाँचिदैन भनेर डोकोमा चढेर उपचार गर्न झर्दै गरेको समाचार हेटौँडाबाट प्रकाशित हुने पत्रिकामा देखिएको थियो ।
पंक्तिकारकै वडामा बस्ने एकजना ब्राह्मण चेली चौध वर्षकै उमेरदेखि प्रभु येसुको चेली बनिन् । प्रभु येसुप्रति सम्पूर्ण जीवन सुम्पेकी दुई बीस काटेकी ति चेली केहि महिना अगाडि सिकिस्त बिरामी परिन् । बिरामी परेपछि उपचारका लागि फादरलाई बिन्ति गरिछिन् । फादर मेरा लागि प्रार्थना गरी दिनुहोस् र सबैलाई प्रार्थना गर्न लगाई दिनुहोस् भनेर बिन्ति गरिछिन् । कसैले पनि प्रार्थना नगरी दिएपछि चितवनको क्यान्सर अस्पतालमा गएर जाँच गर्दा क्यान्सर भएको पुस्टि भयो । किन उपचार गरिस् भनेर भोकभोकै राखेर यातना दिएछन् । पछि निजको भाइले थाहा पाएर आफैसँग राखेर उपचार गराउनु पर्ने स्थिति समेत देखिएको थियो ।
पंक्तिकारको जीवन संगिनी महिना बिराएर भरतपुर चितवनमा डाक्टरी परीक्षणमा जाने गरेको छ । अस्तिको हप्ता एकै वडाका लामिछाने भाइ पनि स्वास्थ्य जाँच गराउन आएका रैछन् । धादिङ जिल्लाबाट बसाई सरी आएका ति भाइको पिता नामुद झाँक्री थिए । बाबु बितेपछि तिनको दाजु इसाई धर्ममा लागेछन् । आफु लागे पछि सबै परिवार इसाई बन्ने नै भए । के भयो भाइ ? किन आएको अस्पताल भनी सोधनी हुँदा मुटु दुखेर जचाउन आएको भनी जवाफ दिए । सुरुमा सबैलाई प्रभुले रोग निको पारिदिन्छ । प्रभुले स्वर्ग लैजानु हुन्छ भनेर आश्वासन दिँदै हिँड्नेहरु बिरामी नहुनु पर्ने । यदि बिरामी भै हाले तापनि प्रभुले रोग निको पार्नु पर्ने हैन र ?
मानिस भएर जन्म लिएपछि रोग, भोकदेखि शोकसम्म व्यहोर्नु पर्छ । रोग लागेपछि उपचार गर्नका लागि वैद्यदेखि डाक्टरसँग परामर्श सरसल्लाह अनुसार औषधि उपचार गर्नु पर्दछ । वडा ईलाकादेखि जिल्ला जिल्लामा खोलिएका सरकारीदेखि निजिसम्मको औषधालयहरु त्यसैको प्रमाण हुन् । प्रार्थना गर्दैमा, देवी, देउताको स्तुति गाउँदैमा रोग निको हुने भए लाखौंलाख खर्च गराएर डाक्टरी किन पढाउनु पर्यो ? करोडौं करोड खर्च गरेर सरकारीदेखि निजि अस्पताल किन खोल्नु पर्यो ? हामीले चिन्दै देख्दै आएको डाक्टरी विधा तथा तिनले सिफारिस गर्ने औषधिहरुको जन्म पनि इसाई धर्म मान्नेहरुबाटै भएको हो । अर्को अर्थ नलागेमा हिन्दु तथा बौद्धहरुले चलन चल्तीमा ल्याएको उपचार पद्दति त आयुर्वेदिक हो । डाक्टरको ठाउँमा कविराज हुन्छन् ।
अहिले नेपालमा जुन स्तरमा इसाई धर्मले गगन चुम्दैछ, चुमाउँदैछ त्यो खतराको संकेत हो । इसाईहरुको शब्दजालमा फसेर आफ्नो सनातनी धर्म संस्कारलाई लात हानेर विदेशी धर्म र वादलाई अँगालो हाल्नु भनेको कच्चा वैद्यलाई विश्वास गरेर यमपुरीको यात्रा गर्नु हो भन्ने यो पंक्तिकारको ठम्याई हो ।