पुुरस्कार वितरणको क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीमा रहेको भानु माध्यमिक विद्यालयले साप्ताहिक क्रियाकलापमा उकृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । विद्यालयले आयोजना गरेको साप्ताहिक कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई आइतबार पुरस्कार वितरण गरेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले जानकारी दिनुभयो ।

विद्यालयले साप्ताहिक क्रियाकलाप अन्तर्गत विभिन्न किसिमका खेलहरु, हाजिरीजवाफ, हस्तलेख लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा उकृष्ट हुने विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थापाले बताउनुभयो ।

यस्तै, गत शुक्रबार विद्यालयले वार्षिक उत्सवको अवसर पारेर विभिन्न खेलकुद आयोजना गरेको प्रधानाध्यापक थापाले जानकारी दिनुभयो । प्रतियोगितामा कक्षा १–२ का विद्यालर्थीहरुका लागि बेलुन फुटाई, ३–५ का विद्यार्थीलाई गणित दौड र ६ देखि १२ कक्षासम्मका विद्यार्थीहरुलाई कबड्डी, सदन स्तरीय रिले दैड, दौड र सटपुट प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा छात्रा/छात्र दुबैको हाउस समूह सहभागी भएका थिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई मेडल प्रदान गरिएको थियो ।

बुधबार ६ देखी १२ कक्षाका विद्यार्थीहरुको फुटसल प्रतियोगिता हुँदैछ । विद्यालयको ४५ औं वार्षिकोत्सव आगामी बिहीबार हुँदैछ । गाउँपालिकामा आइतबारदेखि दोस्रो त्रैमासिक परीक्षा सुरु भए पनि भानुु माविमा पुस १४ गतेबाट सुरु हुने प्रधानाध्यापक थापाले जानकारी दिनुभयो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल ५२४ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।