क्रिकेट प्रशिक्षणमा सहभागी महिला खेलाडी ।

हेटौँडा : मकवानपुर जिल्ला क्रिकेट संघले महिला क्रिकेट खेलाडी उत्पादन गर्ने योजनाले सुरु गरेको छनोटमा २१ जना महिला खेलाडीहरु सहभागी भएका छन् । महिला क्रिकेट खेलाडी उत्पादन गर्न प्रशिक्षण दिइनेगरी सञ्चालन गरेको प्रशिक्षणका लागि २१ जना महिला खेलाडीको सहभागी हुने भएका छन् । मकवानपुर जिल्ला क्रिकेट संघले सोमबार फेसबुक पेजमार्फत प्रशिक्षणमा सहभागी हुनका लागि नाम दर्ता गराउने २१ जना खेलाडीको नाम सार्वजनिक गरेको मकवानपुर जिल्ला क्रिकेट संघ तथा प्रदेश क्रिकेट संघका सदस्य संजोक पोखरेलले जानकारी दिनुभएको छ ।

करिब २ साता पहिला फारम दर्ता प्रक्रिया सुरु गरेर उक्त कार्यलाई अगाडि बढाएर मंगलबारबाट प्रशिक्षण सुरु गरिएको उहाँले बताउनुभयो । १९ वर्ष उमेर समूहको तथा सिनियर खेलाडीलाई विशेष रुपले प्राथमिकता दिएर खेलाडी उत्पादन गरेर प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सहभागी गराइने उहाँले बताउनुभयो । मकवानपुरबाट २१ जना मध्ये १४ जनाको खेलाडीलाई प्रारम्भिक सूचीमा राखिने सदस्य पोखरेलले बताउनुभयो । हेटौंडा–४ स्थित हुप्रचौरमा सुरु गरिएको प्रशिक्षणमा सहभागी खेलाडीलाई राम नरेश गिरीले प्रशिक्षण दिनेगरी व्यवस्था मिलाइएको छ ।

मकवानपुरका सिनियर तथा जुनियर उमेर समूहका पुरुष खेलाडीहरुले क्रिकेट खेल मार्फत आफ्नो भविष्य निर्माण गरेको कुरालाई मूल्याङ्कन गरेर र व्यावसायिक सम्भावना पनि बढेको कारणले उनीहरुको भविष्य बनाउने र क्रिकेट खेलमा महिला टिम मार्फत मकवानपुर जिल्लालाई उच्च देखाउने उद्देश्य लिएर प्रशिक्षण दिने व्यवस्था मिलाउन लागेको उहाँले बताउनुभयो । महिला खेलाडीहरुका लागि सम्पूर्ण खर्च जिल्ला क्रिकेट संघले व्यहोर्ने छ ।