हेटौंडाः अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई ज्ञापनपत्र बुझाइएको छ । बुधबार मानव अधिकार संरक्षण र मानव वेचबिखन विरुद्धको सञ्जालको आयोजना तथा माइती नेपालको व्यवस्थापनमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न प्रजिअ तीर्थराज चिलुवाललाई ज्ञापनपत्र बुझाएको माइती नेपाल मकवानपुरकी संयोजक माया लामाले जानकारी दिनुभयो ।
ज्ञापनपत्रमा जोखिममा परेकालाई स्वदेश फिर्ता गर्न आग्रह गरिएको छ । मानव बेचबिखन, जबरजस्ती करणी, यौनजन्य हिंसा र महिला हिंसाका विविध पक्षहरुलाई निराकरण गर्ने कार्यमा राज्यका विभिन्न निकायहरुसँग सहकार्य, समन्वय र छलफल गरी मानव बेचबिखन तथा लैङ्गिक हिंसा रोकथाम गर्न ज्ञापनपत्रमा अनुरोध गरिएको छ ।
स्वदेश तथा विदेशमा वेचबिखनमा परेकाहरुको उद्दार र स्वदेश फिर्तीका लागि नेपाल–भारत सीमा नाकाहरुमा कार्यरत भारतीय र नेपाली सुरक्षा निकाय, नेपाल सरकारका सुरक्षा निकाय तथा यससंग सरोकार राख्ने विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसँग सहकार्य तथा समन्वय बढाउन ज्ञापनपत्रमा माग गरिएको छ । नेपाल–भारतको सीमा नाका भएर भारतका विभिन्न शहरहरुमा गैरकानूनी तरिकाले मानव बेचबिखन तथा ओसारपसारबाट पीडित÷प्रभावित नेपाली नागरिकहरुको उद्दार तथा स्वदेश फिर्ती प्रक्रियामा रहेका अस्पष्टता अन्त्यका लागि ध्यानाकर्षण भएको जनाइएको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा छोराछोरी उद्दारकी रिता लामा, ओसिएमसी हेटौंडाकी अमृता लामा, अस्मिता नेपालकी संयोजक आरती पाठक, माइती नेपालकी मन लामा र माया लामालगायतको उपस्थिति रहेको थियो । ‘सुरक्षित आप्रवासनको आधार सूचना र सीपसहितको रोजगार’ भन्ने नाराका साथ दिवस मनाइएको छ । दिवसका अवसरमा हेटौंडा–८ का किशोरकिशोरीलाई जनचेतनामूलक अभिमुखीकरणसमेत गरिएको थियो ।