हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रविधिमैत्री शिक्षालाई जोड दिन जरुरी रहेको बताउनुभएको छ । शुक्रबार हेटौंडा–१, चाइनाक्वाटरस्थित अमर माध्यमिक विद्यालयको ३२ औं अभिभावक भेलालाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले ज्ञानसँगै व्यवहारिक तथा प्रविधिमैत्री शिक्षालाई जोड दिए मात्र शैक्षिक विकासले फड्को मार्ने बताउनुभयो ।
प्रदेश सरकारले शैक्षिक सुधारदेखि तालिम, सीप पनि सिकाइरहेको उहाँको भनाई छ । यस्तै विद्यालयको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा निमुखा, अभिभावकविहीन र विपन्न विद्यार्थीको शिक्षाको जिम्मेवारी प्रदेश सरकारले लिने प्रतिबद्धता मुख्यमन्त्री लामाले जनाउनुभयो । पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको भन्नुहुँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि सबैको भूमिका जरुरी रहेको उहाँले औंल्याउनुभयो । रोजगारमूलक शिक्षा दिए विदेश पलायनको दरलाई पनि रोक्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
अभिभावक भेलामा प्रधानाध्यापक मालती उप्रेतीले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुहुँदै विद्यार्थी बिरामी हुँदा अभिभावकलाई फोन गरी जानकारी दिएर घर जाँदाको रेकर्ड, विद्यार्थीले अनुशासनहिन काम गरेमा परामर्श दिँदै असल बानी निर्माणमा लागेको र त्यस्ता विद्यार्थीको रेखर्ड राख्ने जस्ता काम विद्यालय गरिएको भन्दै ५० बुँदे उपलब्धी सार्वजनिक गर्नुभयो । उहाँले कक्षाकोठा, खेलमैदान, सभाहलको पूर्ण व्यवस्था गर्न नसकिएको, छात्राबास, यातायात अभावसँगै विद्यालय नर्सको व्यवस्था हुन नसकेको जानकारी दिनुभयो । यस्तै भौतिक निर्माण र शैक्षिक विकासका लागि आर्थिक स्रोत जुटाउन कठिन, नियमित आम्दानीको स्रोत नभएको बताउनुभयो । विषयगत शिक्षकको कमि, माध्यमिक दरबन्दी नभएको, अभिभावकहरुको सक्रिय सहभागिताको अभाव, शैक्षिक सामग्री निर्माण र प्रयोगमा कमि, शिक्षकहरुमा विज्ञान र प्रविधिको ज्ञानको कमि रहेको जानकारी दिनुभयो ।
विद्यालय बाल विकास सहजकर्ता २, प्राथमिक तहका ११ महिला र ३ पुरुष गरी १४ शिक्षक, निम्न माध्यमिक विद्यालय तहका २ महिला र २ पुरुष गरी ४ शिक्षक रहेका छन् । यसैगरी माध्यमिक विद्यालय तहका एक महिला र एक पुरुष गरी २ शिक्षक, लेखा कर्मचारी एक महिला, सहयोगी कर्मचारी महिला २ र कुचिकार एक महिला गरी २० जना महिला र ६ पुरुष गरी २६ जना शिक्षक कर्मचारी रहेका छन् । विद्यालयमा बाल विकासकक्षादेखि १० कक्षासम्म ३ सय छात्रा र ३ सय ३३ छात्र गरी ६ सय ४९ विद्यार्थी अध्ययनरत् छन् ।
अभिभावक भेलामा प्रधानाध्यापक मालती उप्रेतीसहित शिक्षक, विद्यार्थी, अभिभावक सम्मानित भएका छन् । हेटौंडा उपमहानगरपालिकाबाट उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मानित भइसक्नुभएकी प्रधानाध्यापक उप्रेतीलाई विद्यालय व्यवस्थापन समितिले सम्मान गरेको हो । एसईईमा उत्कृष्ट अंकसहित विद्यार्थी उत्तीर्ण गराउन सफल विषयगत शिक्षक, उत्कृष्ट सिकाई उपलब्धी हासिल गर्ने शिक्षक, कर्मचारी, असल अभिभावकलाई पनि सम्मान गरिएको थियो । विद्यालयका सहयोगी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, अक्षयकोषदाता, एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, अनुशासित विद्यार्थी, २०८० सालको परीक्षामा उत्कृष्ट हुने कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई शैक्षिक सामग्रीसहित पुरस्कृत गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतमको अध्यक्षता तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।