मंसीर महिनामा मात्रै मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित ११ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ६ सय केजी भन्दा बढी लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा गाँजा र गाँजा तस्करीमा संलग्न साधन र तस्कर व्यक्तिलाई पक्राउ गर्र्न सफल भएको छ । मकवानपुरको भुगोलमै गाँजाको यस किसिमको तस्करीका घटनाले मकवानपुर जिल्लामा गाँजाको अवैध खेती भइरहेको पुष्टि हुन्छ । लागूऔषध गाँजाको विषयमा वैधानिकता दिने, गाँजाको औषधीय गुणको लाभ लिने विषयमा पनि बेला बेलामा चर्चा हुने गरेको छ । तर, अवैध लागुऔषधको उचित व्यवस्थापन हुन नसक्नु चिन्ताको विषयमा हो ।
सामान्यतः प्रहरी युनिटहरुमा प्रमुख फेरिएसँगै तस्करहरुको नियमित काम प्रभावित बनिरहेको देखिन्छ । यस पटक भने मकवानपुरमा प्रहरी प्रमुख फेरिएको लामो समयसम्म लागूऔषध गाँजा तस्करी नियन्त्रणमा काम भइरहेको छ । लागूऔषध तस्करीको मात्रा र तरिका हेर्दा मकवानपुरमा लागूपदार्थको उत्पादन उच्च मात्रामा भइरहेको भन्ने स्पष्ट हुन्छ । लागूऔषधको विषयमा राज्यका संयन्त्र, सामाजिक अगुवा र राजनीतिकर्मीहरु स्पष्ट हुनु जरुरी छ । मतको लोभमा, जनता रिसाउने जोखिम ठानेर लागूऔषध दूव्र्यसनको जोखिमबाट टाढा रहन, राख्न जरुरी छ । स्थानीय प्रशासन र प्रहरीले पनि बेला बखत गाँजा, अफिम खेती नष्ट गर्ने अभियान चलाएको बताए पनि वास्तवमा लागूऔषधको अवैध खेती नियन्त्रणमा बल पुगेको छैन ।
प्रहरीले नै वैकल्पिक र आयआर्जन हुने क्षत्रेमा ग्रामीण भेगमा मानिसलाई सहयोग गरेर लागूऔषधको अवैध उत्पादन रोक्ने घोषणा समेत गरेको थियो । तर, लागूऔषधको उत्पादन र तस्करीमा कमि आएको छैन । बरु बढोत्तरी भएको देखिन्छ । लागूऔषधको दुव्र्यसनबाट बच्न बचाउन राज्य, गैरराज्य र नागरिक सबै लाग्नुपर्ने अवस्था छ । जनप्रतिनिधिकै शासन दोस्रो कार्यकालमा हुँदा पनि आफ्नो टोल, समुदाय, गाउँमा अबैध हर्कतमाथि कसरी टिप्पणी गर्न सकिन्छ होला ? जनप्रतिनिधिहरुको उपस्थितिका बाबजुद पनि लागूऔषध गाँजाको व्यावसायिक खेती हुनु, उत्पादित गाँजा ठूलो परिणाममा तस्करी भइरहनु असामान्य विषय हो ।
यो आजको समाज र समयमा पनि जनप्रतिनिधि, स्थायी सरकार स्थापित हुँदा लागूऔषधको अवैध उत्पादन र तस्करी सम्भव हुनु अविश्वसनीय र अपेक्षित हो । यस्ता हर्कतले सिंगो समाजमा शान्ति, अमनचयन स्थापित हुन सक्दैन । प्रहरी प्रशासनले पनि लाभको लोभमा परेर आफ्नै समाज खोक्रो बनाउने बाटोलाई रोक्नुपर्छ ।