हेटौंडाः तेस्रो संस्करणको सेन्ट्रल कलेज महिला फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीको महिला टिम सहभागी हुँदैछ । मंसीर २२ गतेदेखि चितवन जिल्लाको रत्ननगर नगरपालिका टिकौलीचौरमा हुने सेन्ट्रल कलेज रत्नप्रिय महिला फुटबल प्रतियोगितामा हेटौँडा फुटबल एकेडेमीको महिला खेलाडीलाई सहभागी गराउन लागेको अध्यक्ष तथा प्रशिक्षक भीम लामाले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा चितवनको आयोजक रत्नप्रिय क्लब, चितवनकै सूर्यपुर एफसी, ओखलढुंगा, काठमाडौं महानगरपालिकाको संकटा एफसी, बारा जिल्लाको निजगढ फुटबल एकेडेमी, सर्लाहीको बागमती युथ क्लब र नवलपुरको अभिषेक चर्च गरी ८ टिमहरुको सहभागिता रहने प्रशिक्षक भीम लामाले बताउनुभयो । रत्नप्रिय क्लब क्लबको आयोजनामा, रत्ननगर नगरपालिकाको प्रवद्र्धनमा तथा ९ नम्बर वडा कार्यालयको संरक्षणमा क्लबले प्रतियोगिताको आयोजना गर्न लागेको प्रशिक्षक लामाले बताउनुभयो ।
पर्यटन कृषि तथा खेलकुद हुन पूर्वाधार, रत्ननगर पालिकाको विकासको आधार भन्न नारालाई सार्थक बनाएर तथा विभिन्न बाहिरी जिल्लाका महिला खेलाडीको प्रतिभालाई प्रष्फुटन गर्न र महिला खेलाडीको विकास गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागेको उहाँले बताउनुभयो । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीहरुलाई जनही ५÷५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल मंसीर २९ हुने प्रशिक्षक लामाले बताउनुभयो ।