हेटौंडाः हेटौंडा–५ स्थित पिप्ले युवा क्लबले वडाध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा कार्यालयको मुख्य सहयोगमा पहिलो संस्करणको वडाध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । ‘राष्ट्रिय खेलाडी बन्ने होड’ उत्पादनमा जोड’ भन्ने मूल नाराका साथ यु–१५ ८ ‘ए’ साइट फुटबल प्रतियोगिता गर्न लागेको पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरले जानकारी दिनुभएको छ ।
हेटौंडा–५, पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिता यही मंसीर २७ गतेदेखि ३० गतेसम्म हुने अध्यक्ष सुविन घिमिरेले बताउनुभयो । प्रतियोगितामा मकवानपुरसहित अन्य जिल्लाबाट करिब १६ वटा टिमहरुको सहभागिता रहने अनुमान गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो । खेलको विकास गर्न, १५ वर्ष उमेर समूहका खेलाडीहरुको उत्पादन गर्न र खेलाडीहरुमा एक अर्काबीच भातृत्व सम्बन्धको स्थापनका गर्नका लागि प्रतियोगिताको आयोजना गरेको उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागी हुनका लागि २३ गतेसम्म टिम दर्ता गराइसक्नु पर्ने र २४ गते खेलतालिका सार्वजानिक गरिने उहाँले बताउनुभयो ।
खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले क्लबका अध्यक्ष घिमिरले किशोर खेलाडीहरुलाई नियमित रुपमा प्रशिक्षण दिइरहनुभएको छ । प्रतियोगिताका लागि पिप्ले–क्याम्पा रंगशालामा मैदान व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । प्रतियोगिताको लागि खेल मैदानमा धरसो बनाउने, घाँस उमार्ने लगायतका कामहरु गरिएको थियो ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि ३ हजार ५ सय रुपैयाँको व्यवस्था गरिएको छ । प्रतियोगिता आयोजनाका लागि करिब ५ लाख रुपैयाँको बजेट खर्च हुने आयोजकको अनुमान रहेको छ ।