हेटौँडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीमा आगोले पोलेर ६ महिनाको शिशु घाइते भएका छन् । आइतबार बेलुका ८ बजेर ३० मिनेटको समयमा आगो नजिकै बसेर तेल लगाउने क्रममा अचानक आगो कपडामा सल्किएर शिशुको शरीरको कम्मर र ढाडको भागमा जलेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवन जिल्लाको रत्ननगर नगरपालिका–२ टाँडी घर भई मक्रान्चुलीस्थित माईती घरमा आएकी ३० वर्षीया दीपा तिमिल्सेनाले आफ्नै शिशुलाई आगो नजिकै बसी तेल लगाउने क्रममा आगोले पोलेको हो । शिशुलाई बेलुका ९ बजेर ४५ मिनेटको समयमा उपचारका लागि हेटौँडा अस्पताल मकवानपुरमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित जलन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
यस्तै हेटौँडा–१२, पदमपोखरीमा अजय घलानको गोठमा आगलागी भएको छ । आइतबार बिहान ८ बजेको समयमा गोठमा कुँडो पकाउन बालेको आगोबाट आगो सल्कन गई आगलागी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । आगलागीबाट गोठ आंशिक रुपमा जलेको र गोठ भित्र रहेको काठपात गरी ४० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । दमकल, प्रहरी, स्थानीयहरुको सहयोगमा बिहान ९ बजेर ५ मिनेटको समयमा आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।