चितवन जिल्लाको रत्ननगर नगरपालिकाले आयोजना गरेको तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिकाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा चितवनकै राप्ती नगरपालिकालाई पराजित गर्दै हेटौँडा उपमहानगरपालिकाले उपाधि जितेको हो । हेटौँडा उपमहानगरको खेलकुद विकास समितिको अग्रसरतामा सहभागी हुँदै पहिलो पटकमै उपाधि जित्नु हेटौँडा उपमहानगरवासीका लागि सुखद् विषय हो । हेटौँडा उपमहानगरपालिकाले खेलकुदमा गरिरहेको लगानीको प्रतिफल पनि हो पछिल्लो उपाधि । फाइनल खेलमा आफ्नो टिमको हौसला बढाउन नगरप्रमुख मीना कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमसहित वडा अध्यक्षहरु, नगर खेलकुद विकास समितिका पदाधिकारीको ठूलो समूह नै रत्ननगर पुगेको थियो । उपाधि विजेता टिम हेटौँडा खेलकुद विकास समितिका पदाधिकारी, खेलाडी, टिमका अन्य सदस्य र नगरवासी नै खुसीको विषय हो ।

हेटौँडा उपमहानगर फुटबल खेलका लागि उर्वरभूमि हो । हेटौँडाका अञ्जन विष्ट, विमल पाण्डे, आयुष घलान, एन्जल महर्जन, छिरिङ लामा राष्ट्रिय टिममा समावेश छन् । राष्ट्रिय टिममा उपमहानगरका मात्रै प्रमुख पाँच खेलाडी सहभागी हुनु सामान्य विषय होइन । स्रोत, साधनको सीमितताका बीच नगरका ५ जना खेलाडी राष्ट्रिय टिमको प्रमुख खेलाडीको रुपमा रहीरहँदा आगामी दिनमा यस किसिमको उपलब्धीलाई कायमै राख्ने र अझ राम्रो गर्दै जाने विषयमा उपमहानगरका सरोकारवालाले गम्भीर भएर योजना बनाउनुपर्छ । नेपालमा फ्रेन्चाइज लिग समेत सञ्चालन भइरहँदा टिमकै स्वामित्व समेत हेटौँडाका धनाढ्यले लिनुपर्ने अपेक्षा खेलप्रेमीको रहने गरेको छ । तर, सरोकारवालाले भोलिको सम्भावनाको अध्ययन गरी उपयुक्त योजना बनाउनेतर्फ भने ध्यान दिन सकेको छैन ।

यसअघि राष्ट्रिय टिममा अटाएका हेटौँडाका सुनिल बल, रञ्जन विष्ट, उमेर समूहमा अशोक बराल, रोहित कार्की यतिबेला आफ्नो व्यक्तिगत र पारिवारिक बाध्यता र सम्भावनाको खोजी गर्दै विदेशिएका छन् । उमेर समूहमा पनि हेटौँडाका युवा खेलाडीको सहभागिता प्रशंसनीय छ । २० वर्ष उमेर समूहमा हेटौँडाका क्रिशल मोक्तान, १७ वर्ष उमेर समूहमा भुवन कामी, सन्तोष गोङ्बा र विशेष बानियाँले आफूलाई प्रस्तुत गर्दै आएका छन् । विगतदेखि नै फुटबल खेलमा हेटौँडाको सम्भावनालाई स्पष्ट संकेत गर्ने प्रसस्त उदाहरणहरु स्थापित छन् । एन्फा अध्यक्षको रुपमा गणेश थापा खेल जीवन र खेल प्रशासन दुबैतर्फ अब्बल सावित थिए । तर अनियमितताको आरोपमा उनी फुटबलबाट स्पष्टरुपमा बाहिरिन बाध्य हुनुपर्यो ।

यत्तिधेरै सम्भावना भए पनि हेटौँडा उपमहानगरले पूर्वाधार विकास र खेलकुदका गतिविधिमा ध्यान दिन सकेको छैन । शनिबार हेटौँडा उपमहानगरपालिकाले उपाधि जित्दै गर्दा नगरप्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र जितको सन्देश सञ्चार भएपछि आम हेटौँडावासी खुसी थिए । उपाधि जित्दा जति खुसी भइन्छ, मैदानमा देखिने असाध्यै कमजोर अवस्थाले भने हामीलाई निराश बनाइरहेको छ । स्थानीय शक्तिशाली सरकारको रुपमा रहेर खेलकुदको विकासका लागि उपयुक्त नीति, रणनीति बनाएर जान सके राम्रो हुने थियो । उपमहानगरले किशोर फुटबलरको खोजीमा लगानी गर्नुपर्ने देखिन्छ । तर, उपमहानगर फुटबल प्रतियोगिताको नियमित आयोजनामै केन्द्रित छ । भेट्रान्स र टोल विकास संस्थास्तरीय प्रतियोगितामा लगानी गरेर बसिरहेको छ । यसअघि हरिबहादुर महतको कार्यकालमा एक पटक फुटबल खेलको प्रशिक्षक समेत नियुक्त गरिएको थियो । तर, त्यो कार्यक्रम नियमित सञ्चालन हुन सकेको छैन । तत्कालिन समयमा पनि प्रशिक्षकले छोटो अवधिमै राजिनामा दिएर बसेका छन् । अहिले उपाधि जितेकै अवसरमा दीर्घकालिन योजना बनाएर उपयुक्त ढाँचा र ढंगबाट फुटबलका साथै समग्र खेल क्षेत्रको प्रवर्द्धनको योजना तयारी गर्न स्थानीय सरकारको ध्यान जानु जरुरी छ ।