हेटौँडाः बालाचतुर्दशीमा शत्बीज छर्ने क्रममा हेटौँडा–८, कमानेस्थित मनकामना मन्दिरमा पण्डितले छुवाछुतको व्यवहार गरेको भन्दै दुई महिलाले ४ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएका छन् । शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गरिएको हो । दुई महिलाले मनकामना मन्दिरका पुजारी ७० वर्षीय मधुसुदन काफ्ले, ५० वर्षीय शिव पौडेल, ५५ वर्षीया होमकुमारी बानियाँ र ५० वर्षीय सन्तोष उपाध्याय विरुद्ध उजुरी दर्ता गरेका हुन् ।

हेटौंडा–८, कमानेकी ४७ वर्षीया सरस्वाती रोक्का र ४२ वर्षीया गंगा मंग्रातीले पुजारीसहित ४ जनाविरुद्ध उजुरी दर्ता गराएका हुन् । बेलुका दिवगंत पितृका नाममा अखण्ड दीपदान गर्न जाँदा विभेद गरिएको आरोप छ । श्रीमानको नाममा बत्ती बाल्न जाँदा पुजारीले अन्य भक्तजनलाई गर्ने व्यवहारभन्दा फरक व्यवहार गरेको सरस्वातीको आरोप छ । शनिबार बिहान होम पुजा गर्न जाँदा पनि उस्तै विभेदपूर्ण व्यवहार भएपछि उजुरी दिएको सरस्वती र गंगाको भनाइ छ । ढुक्कले होम पुजा गर्न पुगेका हामीलाई दलित भएकै कारण पुजारीले पानी र घिउमा मुछेका चामल नचढाउन भनेको उहाँको आरोप छ । त्यसपछि पुजा नै नगरी घर फर्केको भन्दै दुख व्यक्त गर्नुभयो ।

४ वर्षअघि बितेकी सासुको नाममा बत्ती बाल्न जाँदा विभेद भएको गंगाको आरोप छ । अन्य भक्तजनले नमानेको भन्दै दलित महिलाले ल्याएको पुजाको सामग्री लिन पुजारीले आनाकानी गरेको आरोप छ । मन्दिर जस्तो सार्वजनिकस्थलमा यस्तो व्यवहार गरेपछि पुजा नगरी घर फर्केको गुनासो गर्नुभयो । २१ औं शताब्दीमा आइपुग्दा पनि हामीमाथि हुने अन्याय नरोकिएको भन्दै दलित समुदाय रुष्ट छन् । अहिले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चालिरहँदा यो विषय बाहिर आउनु दुखद् भएको बताएको छ । स्थानीय अन्जिना दुलालले स्थानीयले हामीमाथि यस्तोे अन्याय भइरहेको थियो तर सहेर बसेको बताउनुभयो । तर अति भएको र हिंसा सहनुहुँदैन भन्दै उक्त विषय बाहिर ल्याएको बताउनुभयो । दलित मिलिजुली बहुउद्देश्यीय उद्यमी समुह, हेटौंडा–८ की अध्यक्ष पुष्पा नेपालीले दलित समुदायमाथि अन्याय भएको भन्दै न्याय दिलाउन आग्रह गर्नुभयो । तर पीडक पक्षले भने आफूले विभेद नगरिएको दावी गरेका छन् ।