हेटौँडाः सिमेन्ट उद्योगीहरुले कार्टेलिङ गरेर सिमेन्टको मूल्य बढाएको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरले सरकारको ध्यानाकर्षण गराएको छ । निर्माण व्यवसायी संघ मकवानपुरले बिहीबार एक विज्ञप्ति जारी गर्दै पटक पटक गरी सिमेन्टको मूल्य प्रतिबोरा एक सय रुपैयाँले बढाएको र यस विषयमा सरकार समेत मौन बसेको दावी गर्दै ध्यानाकर्षण गराएको छ ।
आर्थिक मन्दीका कारण व्यवसाय नै प्रभावित भइरहेको, गरेको कामको रकम सरकारले भुक्तानी दिन नसकिरहेका बेला उद्योगीले कार्टेलिङ गरेर मूल्यवृद्धि गर्नु कानून विपरित भएको संघको भनाइ छ । निर्माण व्यवसायी संघ मकवानपुरका महासचिव राजेन्द्रप्रसाद चौलागाईले जारी गर्नुभएको विज्ञप्तिमा वृद्धि गरिएको मूल्य फिर्ता लिन उद्योगीसँग माग गरिएको छ । इन्धन लगायत अन्य कुनै पनि निर्माण सामग्रीको मूल्य वृद्धि नभएको अवस्थामा सिमेन्टको मात्रै कार्टेलिङ गरेर मूल्यवृद्धि गरिएको संघको दावी छ ।