हेटौंडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर र बारा जिल्लाको सीमाक्षेत्र चुरियामाईमा कन्टेनर लोड भएको लरी ट्रक दुर्घटना हुँदा अवरुद्ध भएको राजमार्ग एकतर्फी खुलेको छ । सडकमा तेर्सिएर पल्टिएको लरी ट्रक हटाएर एकतर्फी सञ्चालनमा आएको मकवानपुर प्रहरीले जनाएको छ ।
बिहीबार बिहान १० बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको प्र २ ०३–००१ ख ६७३८ नम्बरको कन्टेनर लोड लरी ट्रक पल्टिएको हो । ट्रक चालक मनहरी गाउँपालिका–३ का ३० वर्षीय महेश मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो । मोक्तानको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । केही बेरमै राजमार्ग दुईतर्फी सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।